काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याएको जस अहिलेको सरकारले मात्र लिन नमिल्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना ३० वर्षअघि नै कांग्रेसका तत्कालिन नेता कृष्णप्रसाद भट्टराईले देखेको बताए ।
३० वर्षयता भएको कामका कारणले नै अहिले मेलम्चीको पानी काठमाडौं आइपुगेको केसीको भनाइ छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौं ल्याई वितरण गर्ने योजना अनुसार गत चैत १५ गतेदेखि परीक्षणका रुपमा पानी वितरण सुरु गरिएको छ ।
म्यानमारको आन्दोलनमा ऐक्यवद्धता
नेता केसीले म्यानमारमा भइरहेको नरसंहार अमानवीय र निन्दनीय रहेको बताए । उनले त्यहाँ निर्वाचित सरकारको पुनर्बाहाली र प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको रिहाइको माग गरे । केसीले म्यानमारका नागरिकले लोकतन्त्रका लागि गरेको आन्दोलनको पक्षमा विश्वभरका नागरिकले ऐक्यवद्धता जनाउन जरुरी रहेको पनि बताए ।