काठमाडौं । विश्वविजेता फ्रान्सले युरोकप २०२४ छनोटअन्तर्गत गएरातिको खेलमा १४–० को रोमाञ्चक जित हात पारेको छ।
खेलको १८ औं मिनेटमा नै १० खेलाडीमा समेटिएको जिब्राल्टरलाई फ्रान्सले १४ गोलको फराकिलो अन्तरले स्तब्ध पारेको हो।
खेलमा कोलियन एम्बाप्पले ह्याट्रिक गरेका थिए। तर खेलको तेस्रो मिनेटमा नै जिब्राल्टरले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता लिएको थियो। त्यसपछि फ्रान्सले लगातार गोल गर्यो । चौथो मिनेटमा मार्कस थुराम, १६ औं मिनेटमा वारेन इमरी र ३० औं मिनेटमा एम्बाप्पेले गोल गरे।
यस्तै जोनाथन क्लसले ३४, किंग्स्ले कोम्यानले ३७ र योसुफ फोफानाले ३७ औं मिनेटमा गोल गरेपछि फ्रान्सले पहिलो हाफमै ७–० को अग्रता बनाएको थियो।
दोस्रो हाफमा पनि फ्रान्सले उतिनै गोल गर्यो । फ्रान्सले खेल अवधिभरी ३९ प्रहार गर्दा जिब्राल्टरले एउटा पनि अवसर बनाउन सकेन । जिब्राल्टरले २७ प्रतिशत समय भने बलमा नियन्त्रण बनाएको थियो। यो जितसँगै फ्रान्स समूह बीको शीर्ष स्थानमा छ। फ्रान्स युरोकपमा छनोट भइसकेको छ।
समूह बी कै अर्को खेलमा नेदरल्यान्ड्सले आयरल्यान्डलाई १–० गोलले हराएको छ। यो जितपछि नेदरल्यान्ड्स समूह बीको दोस्रो स्थानमा छ। उसले १५ अंक बनाएको छ। जिब्राल्टर तालिकाको पुछारमा रहँदा आयरल्यान्ड चौथो स्थानमा छ।