'विधि छ, प्रक्रिया छ, अभ्यास छ, कानुन छ, संविधान छ, नियमावली छ । त्यसअन्तर्गत आउनुहोस् न । यदि उहाँहरू (प्रचण्ड-माधव) अपराध नै गर्न सफल हुनुभयो भने पनि विधि, पद्धति र प्रक्रियाबाट आउनुहोस् । हामी मान्छौँ । मानेर केही बिग्रिँदैन । डेढ वर्षसम्म हामी प्रतिपक्षमा बसौँला । डेढ वर्ष प्रतिपक्षमा बसेर दुईतिहाइ बहुमतले फेरि हामी फर्केर जानेछौँ', उनले भने ।
उनले आफूलाई कुनै छलछाम गर्नुपर्ने अवस्था नरहेको बताउँदै देशभक्तिको उद्देश्यले काम गरिरहेको बताए । यसका लागि जनताले साथ दिने उनले सुनाए ।
अघिल्लो पल्ट पनि हटाएको स्मरण गर्दै उनले भने, 'अघिल्लो पल्ट पनि मलाई हटाएका होइनन् ? हटाउने नेपाल-प्रचण्ड, झलनाथ खनालहरू नै त हुन् ।' उनले एउटै पार्टीमा भएर पनि माधव-झलनाथले प्रचण्डलाई उकासेर हटाएको बताए ।
यसपटक पनि पद्धति र प्रक्रियाबाट नभई आफूलाई प्रधानमन्त्रीबाट गलत्याएर हटाउने बाटो रोजेको उनको भनाइ थियाे । 'अविश्वासको प्रस्ताव ल्याएर हटाउन पाउनुहुन्छ नि उहाँहरूले, हटाउनुहोस् अविश्वासको प्रस्ताव राखेर । त्यो बाटो नजाने गलहत्याउने । कुन लोकतान्त्रिक अभ्यासभित्र पर्छ यो ?', उनले भने ।