काठमाडौं । वामपन्थी नेता एवं पूर्वमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मनाइदैछ। भरतमोहन स्मृति फाउन्डेसनको आयोजना तथा विष्णुमाया पुस्तकायलयको सह–आयोजनामा आज विराटनगरमा स्मृति सभा आयोजना गरिदैछ। स्मृति सभामा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाल प्रमुख अतिथि छन्।
त्यसका लागि नेपाल आज विहान विराटनगर जाने कार्यक्रम रहेको नेपालको सचिवालयले जनाएको छ। विक्रम सम्वत् १९९३ साल वैशाखमा महोत्तरीमा जन्मिएका अधिकारीको २०७५ साल फागुन १८ मा निधन भएको थियो। अधिकारीले विक्रम सम्मत् २०४७ सालको संविधान मस्यौदा समितिमा रहेर संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए।
उनी २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा भरतमोहन अर्थमन्त्री थिए। यस्तै वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुवात गरेका अधिकारीलाई अहिले पनि वृद्धवृदाले स्मरण गर्छन्। अधिकारी २०४६ सालको राजनीतिक परिर्वतन पछि चारपटक सांसद र पाँच पटक मन्त्री बनेका थिए।