काठमाडौं । जनता समाजवादी पाटी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन् । सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली काँग्रेसले जसपालाई आ–आफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन् ।
माओवादी केन्द्रले पनि ठाकुरसँग संवाद जारी राखेको छ । यसैक्रममा आइतबार ठाकुरसँग नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले भेट गरेका छन् । ठाकुर निकट जसपाका नेता डा सुरेन्द्र झाले पौडेलले नयाँ सरकार निर्माणको विषयमा कुराकानी गरेको जानकारी दिए । पौडेलले शेरबहादुर देउवाबाहेक अर्को व्यक्तिलाई पनि काँग्रेसले प्रधानमन्त्री प्रस्ताव गर्न सक्ने धारणा राखेको झाले बताए । ‘काँग्रेस नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णय पार्टीले गरेको छ ।
तर नयाँ सरकारको नेतृत्व देउवाबाहेक अर्को व्यक्तिले पनि गर्न सक्छ भन्ने धारणा पौडेलजीको रह्यो,’ झाले भने, ‘उहाँले अर्को व्यक्ति को हुन सक्छ भन्नेबारेमा भने खुलाउनुभएन ।’ ठाकुरसँग अहिले ओली, काँग्रेस र माओवादी केन्द्रले सत्ता समीकरणमा साझेदारीको प्रस्ताव गरेका छन् । तर ठाकुर भने ओलीसँग निकट देखिएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
यो नि पढनुस
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता जारी राखेका छन् । सत्ता साझेदारीका लागि जसपाले राखेका माग पूरा गर्न सरकार र जसपा संयुक्त कार्यदलको बैठक बुधबार बसेको थियो ।
जसपा नेता एवम् कार्यदलका सदस्य लक्ष्मणलाल कर्णका अनुसार बैठकमा माग कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।‘अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्ने सहमति भएको छ । अन्य माग पूरा गर्ने विषयमा छलफल भइरहेको छ,’ कर्णले भने, ‘कुरा सकारात्मक छ ।’
जसपा नेता केशव झाले पनि सरकारसँगको वार्ता सकारात्मक भएको बताए । उनले भने, ‘जसले माग पूरा गर्छ, हामी त्यसैलाई समर्थन गर्छौं ।’ जसपाको समर्थनमा सरकार टिकाउन उसले राखेको माग पूरा गर्ने बारेमा प्रधानमन्त्री ओलीले पनि पटक–पटक शीर्ष नेताहरुसँग कुराकानी गरेका छन् ।
कार्यदलका अर्का एक सदस्यका अनुसार जसपाका माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको भइरहेको छ ।