Logout

चर्चामा

रविको बयानः मेरो नाम लेखेर बैंकमा कसले रकम जम्मा गर्‍यो थाहा भएन

950 Shares

काठमाडौँ । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा बयान लिन रवि लामिछानेलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ।

गोरखा मिडियाको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा रविलाई प्रतिवादी बनाएर उनको बयान लिइएको हो। तर, रविले इन्कारी बयान दिएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक प्रहरी अधिकारीका अनुसार रविले आफ्नो नाम लेखेर कसले पैसा जम्मा गरिदियो थाहा नभएको बताएका छन्।

‘म सुप्रिमको सदस्य पनि होइन, ऋणी पनि होइन। कसले मेरो नाम लेखेर बैंकमा रकम जम्मा गरिदियो। त्यो मलाई थाहा भएन,’ रविले बयानमा भनेको कुरा उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने।

रविले सुप्रिम मात्रै नभएर अन्य सहकारी ठगीमा पनि आफ्नो कुनै संलग्नता नरहेको र सरकारले दुःख दिने नियतले आफूलाई पक्राउ गरी हिरासतमा राखेको बताएका छन्।

‘मैले राम्रै मनसायले जीबी राईसँग सहकार्य गरेको थिएँ। मलाई त्यो टेलिभिजनमा सहकारीको रकम ल्याएकोसम्म पनि थाहा छैन,’ रविले बयानमा भनेका छन्। उनले जीबीलाई पक्राउ गरेर ल्याएपछि सबै कुरा खुल्ने बताएको ती प्रहरी अधिकृतले जानकारी दिए।

मंगलबार बयान दिएर बाहिरिँदै गर्दा रविले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका थिए। बाहिर सञ्चारकर्मी र समर्थकहरू देखेपछि रविले हात हल्लाउँदै भने, ‘खोरमा थुनिनेबित्तिकै बाघ स्याल हुँदैन।’ त्यसलगत्तै प्रहरीले हस्तक्षेप गरेर उनलाई अगाडि बढाएको थियो।

गोरखा मिडिया नेटवर्कमा अध्यक्ष जीबीको ८५ प्रतिशत र रविको १५ प्रतिशत शेयर थियो। रविले टेलिभिजन छोडेका बेला नै आफूले शेयर बिक्री गरिसकेको बयान प्रहरीलाई दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार