काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भोलि (बिहीबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनका लागि तयार पारिएको विधान संशोधनको प्रारम्भिक खाका प्रस्तुत गर्दै औपचारिक छलफल सुरु गरिनेछ।
विधान संशोधनको खाका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनसँगै पौडेलको विधान प्रतिवेदन पनि विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ।
प्राप्त जानकारी अनुसार विधान महाधिवेशनमा दुईवटा मुख्य व्यवस्थालाई हटाउने प्रस्ताव प्रस्तुत गरिनेछ । ७० वर्षे उमेर हद र एउटै पदमा लगातार दुई कार्यकालभन्दा बढी उम्मेदवारी नदिने व्यवस्था। यी दुवै विषयमा सचिवालयमा छलफल गरी पोलिटब्युरो र केन्द्रीय कमिटी हुँदै महाधिवेशनसम्म लैजाने तयारी छ।
यसअघि २०७८ सालमा सम्पन्न विधान महाधिवेशनले धारा ६४ अन्तर्गत ती दुई व्यवस्था समावेश गरेको थियो, तर पछि पार्टी बैठकबाट एउटा व्यवस्था हटाइसकिएको थियो। यद्यपि, यिनै व्यवस्थाका कारण पार्टीभित्र नेताबीच मतभेद देखा परेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञवाली लगायत नेताहरूले उमेर र कार्यकालको सिमालाई संस्थागत मर्यादाका रूपमा निरन्तरता दिनुपर्ने पक्षमा रहेकाले सचिवालय बैठकमा ती एजेण्डामाथि बहस चर्किने देखिएको छ।
एमालेको दोस्रो विधान महाधिवेशन आगामी २०–२२ भदौमा ललितपुरको गोदावरीमा हुँदैछ। महाधिवेशनका लागि प्रतिवेदनको मस्यौदा साउन २२ भित्र तयार पार्ने लक्ष्य राखिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन्।