747
Shares
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूमाथि आएको अडियो प्रकरणबारे स्पष्टिकरण दिएका छन्। उनले अडियोमा आफ्नो आवाज वा संलग्नता पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्।
मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यो विषय नियोजित हल्ला भएको भन्दै आफू र परिवारको चरित्र हत्या गर्ने प्रयास गरिएको आरोप लगाए। मन्त्री अधिकारीका अनुसार, केही व्यक्तिहरू आफ्नो स्वार्थका लागि मालपोत अधिकृतको सरुवामा हस्तक्षेप गराउन खोजिरहेका थिए, जुन उनले अस्वीकार गरेपछि अफवाह फैलाइएको हो।
पोखराको एक जग्गा प्रकरणमा आफू संलग्न नभएको दाबी गर्दै उनले अडियोमा आएका कुराहरू आफ्नो आवाज वा शब्द नभएको प्रष्ट पारे।