Logout

चर्चामा

वडाको सुविधा काठमाडौँबाट पाएपछि वृद्धवृद्धा खुसी

720 Shares

काठमाडौँ।  चारवर्ष पहिले नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुनखानीबाट काठमाडौँमा आएर बस्नुभएका ८६ वर्षीय खोपप्रसाद पाण्डे काठमाडौँबाटै वृद्धभत्ताको कार्ड नविकरण गर्न पाएपछि खुसी हुनुहुन्छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धाका लागि अनलाइन प्रक्रियाबाट वायोमेट्रिक प्रणाली अनिवार्य गरेसँगै वृद्धभत्ताका लागि वडा कार्यलयमा अनिवार्य जानुपर्ने बाध्यताबीच वडाले काठमाडौँमा आएर वृद्धभत्ताको नविकरण गरिदिएपछि उहाँ खुशी हुनुहुन्छ । “गाउँमा जान समस्या हुन्थ्यो, वडा कार्यालयले हामीलाई खोजेर यहीँ आएर सेवा दिएकोमा सारै खुशी लागेको छ”, उहाँ भन्नुहुन्छ । यस्तै, सुनखानीकै १०४ वर्षीय देवकुमारी पाण्डेले पनि काठमाडौँबाटै सामाजिक सुरक्षा भत्ताको नविकरण गर्नुभयो । उमेरले सबैभन्दा बढी उहाँ काठमाडौँबाटै सेवा लिन पाएकोमा खुशी देखिनुहुन्थ्यो ।

नुवाकोटको शिवपुरी गाउँपालिका–६ की सावित्री थापा काठमाडौँको साङ्लामा बस्नुहुन्छ । उहाँ काठमाडौँबाट आफ्नो सेवा पाएकोमा खुशी हुनुहुन्छ । नुवाकोटको शिवपुरी गाउँपालिकाका–६ र ७ ले आज काठमाडौँको टोखाबाट आफ्ना वडावासीले सेवा प्रदान गरेको छ । वडा नं ६ ले टोखाको ग्रीनल्याण्ड र वडा नं ७ ले बानियाटारस्थित विआर इलेक्ट्रिोनिक्सबाट आफ्ना नागरिकलाई सेवा प्रदान गरेका हुन् । वडा नं ६ का वडाअध्यक्ष विष्णु श्रेष्ठ काठमाडौँ बसेका आफ्ना ज्येष्ठ नागरिकको सहजताका लागि काठमाडौँमै आएर वडाको सेवा प्रदान गरिएको बताउनुहुन्छ । “वडाभित्रका १० ठाउँमा घुम्ती सेवा सञ्चालन गरेर ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरेका थियौँ, आज काठमाडौँमा बसेका आफ्ना वडाबासीलाई उक्त सेवा प्रदान गर्न यहाँ आएका छौँ,” वडाध्यक्ष श्रेष्ठ भन्नुहुन्छ । वडा नं ७ का वडाध्यक्ष वीरबहादुर तामाङ हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई सम्मान गर्दै वडाको सेवा काठमाडौँमा आएर प्रदान गरिएको बताउनुहुन्छ ।

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताको नविकरणका अलावा दुबै वडा आज एक दिन विवाह दर्ता, नागरिकता प्रतिलिपि, राष्ट्रिय परिचयपत्रको सेवा काठमाडौँबाटै प्रदान गरेका छन् । वडा नं ६ बाट ७५ र वडा नं ७ बाट ६० ज्येष्ठ नागरिकले सेवा लिने विश्वास ती वडाले गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार