काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच विभिन्न चुनावी समीकरणबारे छलफल तीव्र बनेको छ । पुस २३ गते उम्मेदवारी दर्ता हुनुअघि नै सहकार्यको टुंगो लगाउने प्रयास भइरहेको एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक गोपाल भट्टराईले बताएका छन् ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख गरी कुल २,०५६ मतदाता सहभागी हुन्छन् । यसपटक १९ मध्ये १८ सिटमा निर्वाचन हुँदैछ भने बाँकी १ सिटमा सरकारको सिफारिसबाट मनोनयन हुनेछ ।
एक्लाएक्लै चुनाव भए
मतभारका आधारमा अधिकांश प्रदेशमा कांग्रेस अगाडि देखिन्छ ।
कोशी: एमाले ४,२१०, कांग्रेस ३,७२२, नेकपा १,६२३ (एमाले बलियो)
मधेश: कांग्रेस ३,१०४, एमाले २,४०८, जसपा १,९२३, नेकपा १,३४६
बागमती: कांग्रेस ४,०१३, नेकपा २,७३८, एमाले २,५७१
गण्डकी: कांग्रेस २,७०४, एमाले २,४५८
लुम्बिनी: कांग्रेस ३,१७९, एमाले २,८१०
कर्णाली: कांग्रेस १,८६३, नेकपा १,८४४
सुदूरपश्चिम: कांग्रेस २,५५८, एमाले १,५३३
कांग्रेस–एमाले तालमेल
कांग्रेस र एमाले मिले सातै प्रदेशमा स्पष्ट बहुमत पुग्ने देखिन्छ । उदाहरणका लागि कोशीमा दुवैको संयुक्त मतभार ७,९२२ र मधेशमा ५,५१२ पुग्छ, जुन बहुमतभन्दा बढी हो ।
एमाले–नेकपा तालमेल
एमाले–नेकपा मिले कोशी, बागमती, गण्डकी र कर्णालीमा बहुमत पुग्छ । तर मधेश, लुम्बिनी र सुदूरपश्चिममा साना दल (जसपा नेपाल, लोसपा, नाउपा) को साथ नलिए जित कठिन हुने देखिन्छ ।
कांग्रेस–नेकपा तालमेल
कांग्रेस–नेकपा समीकरण बने मधेश बाहेक अन्य प्रदेशमा बहुमत पुग्छ । मधेशमा भने जसपा नेपालको १,९२३ मतभार निर्णायक हुन्छ ।
तीन दल मिले
कांग्रेस, एमाले र नेकपा तीनै दल मिले सातै प्रदेशमा सहज जित सम्भव देखिन्छ । कोशीमा संयुक्त मतभार ९,५५५, बागमतीमा ९,३२२ र मधेशमा ६,८५८ पुग्छ ।
दलहरूबीच अन्तिम सहमति भने उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म हुने सम्भावना रहेको नेताहरूले बताएका छन् ।