काठमाडौं । थापाथलीस्थित ‘प्रतिष्ठित’ भनिने ब्रिटिस कलेज गम्भीर ठगी र अनियमितताको आरोपमा केन्द्रमा परेको छ। इन्टर्नसिपको नाममा विद्यार्थीलाई दुबई पठाएर अलपत्र पारिएको खुलासापछि कलेजको कालो धन्दा सतहमा आएको हो। पीडित विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि कलेजभित्र लुकाइएका अनियमितता सार्वजनिक भएका हुन्।
होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूलाई ‘बेलायत जाने सुनौलो अवसर’को सपना देखाएर दुबई पठाइएको र त्यहाँ श्रमिकका रूपमा छाडिएको आरोप विद्यार्थीहरूको छ। कलेजले वार्षिक दुई लाख रुपैयाँ शुल्क लिनेबाहेक दुबई इन्टर्नसिपका नाममा प्रतिविद्यार्थी ७ लाख ५० हजार रुपैयाँ असुलेको पीडितहरूको दाबी छ। तर दुबई पुगेपछि न त इन्टर्नसिपको व्यवस्था भयो, न त कुनै शैक्षिक सहजीकरण। बरु श्रमिक परिचयपत्र बनाएर आफैं काम खोज्न भनिएको विद्यार्थीहरूको आरोप छ।
यसै कारण कयौँ विद्यार्थी दुबईमै अलपत्र परे। इन्टर्नसिप नपाएर १० जना विद्यार्थी मंसिर १५ गते नेपाल फर्किन बाध्य भए भने बाँकी ९ जना श्रमिकका रूपमा अन्य काम गरेर बस्न बाध्य छन्। कलेजको लापरवाही र गैरजिम्मेवारीका कारण विद्यार्थीहरूको भविष्य नै धरापमा परेको पीडितहरूको गुनासो छ।
कलेजको शैक्षिक कार्यक्रमको वैधता, विदेशी सम्बन्धन, शुल्क संरचना र वैदेशिक इन्टर्नसिपको कानुनी आधारमाथि गम्भीर प्रश्न उठेपछि शिक्षा मन्त्रालयअन्तर्गतको उच्च शिक्षा महाशाखाले छानबिन सुरु गरेको छ। पीडित विद्यार्थीको उजुरी र सामाजिक सञ्जालमा चर्किएको आलोचनापछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो।
शिक्षामन्त्री महाविर पुनले कलेजले दुबईमा इन्टर्नसिप गराउने कुनै आधिकारिक अनुमति नलिएको स्पष्ट पारेका छन्। उनले विद्यार्थीलाई विश्वविद्यालय नभई इन्स्टिच्युटमा पठाइएको, स्नातक तहका विद्यार्थीलाई डिप्लोमा तह पढाइ हुने संस्थामा खटाइएको र प्रलोभन देखाएर विद्यार्थीलाई जोखिममा पारिएको भन्दै कडा असन्तुष्टि जनाए। मन्त्री पुनले छानबिनपछि आवश्यक निर्देशन जारी गर्ने र कलेजको लाइसेन्ससमेत खारेज हुन सक्ने चेतावनी दिएका छन्।
यसबीच, विवादलाई अझै पेचिलो बनाउँदै कलेजविरुद्ध बोल्न विद्यार्थीलाई उक्साइएको अर्को आरोप पनि बाहिर आएको छ। काठमाडौंमा रहेका केही विद्यार्थीले दुबई पुगेका विद्यार्थीलाई फर्किन बाध्य पारेर कलेजविरुद्ध अभिव्यक्ति दिन लगाएको आरोप लागेको छ। पहिलो वर्षमा अध्ययनरत प्रियंका नेपालको अगुवाइमा केही विद्यार्थीलाई सामाजिक सञ्जालमार्फत ‘सानो काम लगाइएको’ र ‘श्रम शोषण गरिएको’ भन्दै कलेजविरुद्ध आक्रामक अभियान चलाइएको कलेज पक्षको दाबी छ।
कलेज प्रशासनले भने केही विद्यार्थीले नेपालमै बसेर भ्रम फैलाउँदै आफूले तिरेकोभन्दा बढी रकम मागेको आरोप लगाएको छ। तटस्थ धारणा राख्ने विद्यार्थीलाई समेत सामाजिक सञ्जालमा नकारात्मक एक्सपोज गर्ने धम्की दिइएको उनीहरूको भनाइ छ। कलेजले नलिएको शुल्कबारे समेत गलत सूचना फैलाइएको भन्दै आन्दोलनरत पक्षमाथि गम्भीर आरोप लगाइएको छ।
यद्यपि, दुबईबाट फर्किएका केही विद्यार्थी र उनीहरूका अभिभावकसँग छलफल गरेर समस्या समाधान गरिसकेको कलेज प्रशासनको दाबी छ। तर पीडितहरूको भनाइमा, यो ‘समाधान’ वास्तविक नभई दबाब र सौदाबाजीको परिणाम मात्र हो।
अब प्रश्न उठेको छ—
विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कलेजलाई कसले जोगाइरहेको छ?
शिक्षा मन्त्रालयको छानबिनले साँच्चिकै दोषीमाथि कारबाही गर्छ कि यो पनि कागजी प्रक्रियामै सीमित हुन्छ?
ब्रिटिस कलेज प्रकरणले निजी शैक्षिक संस्थाको नाममा चलिरहेको विद्यार्थी ठगीको गम्भीर तस्वीर सार्वजनिक गरिदिएको छ।