१३ माघ, काठमाडौं।
निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरू बालेन्द्र शाह (बालेन), हर्क साम्पाङ, कमल भुसाल (निकोलस) र महेश बस्नेतसँग स्पष्टीकरण मागेको छ।
आयोगका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह, सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङ, रुपन्देही–२ का उम्मेदवार कमल भुसाल र भक्तपुर–२ का उम्मेदवार महेश बस्नेतविरुद्ध परेको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको हो।
बालेन्द्र शाहको हकमा अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको स्टाटसमा टिप्पणी गरेको विषय निर्वाचन आचारसंहिता विपरीत भएको उजुरी परेको आयोगले जनाएको छ।
कमल भुसाल (निकोलस) को हकमा ‘जेन–जी आन्दोलन’सँग सम्बन्धित जुत्तालाई चुनाव चिन्हजस्तै गरी प्रचार गरिएको विषयमा स्पष्टीकरण सोधिएको हो।
हर्क साम्पाङको हकमा चुनावी प्रचारका क्रममा बालबालिकालाई प्रयोग गरेको, उनीहरूलाई टिसर्ट लगाएर प्रचारमा सहभागी गराएको विषयमा उजुरी परेको आयोगले जनाएको छ।
महेश बस्नेतको हकमा बालेन्द्र शाहलाई लक्षित गरी सार्वजनिक रूपमा अपमानजनक शब्द प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोगको भनाइ छ।
यसैगरी, भक्तपुर–२ कै उम्मेदवार जानुका पाठकलाई पनि उम्मेदवारविरुद्ध घृणाजन्य टिप्पणी गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ।
त्यस्तै, अनुमति नलिई आचारसंहिता लागू भएपछि अधिवेशन आयोजना गरेको आरोपमा स्वास्थ्य स्वयंसेवक संघसँग पनि निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ।
आयोगले तोकिएको समयसीमाभित्र प्राप्त जवाफका आधारमा आवश्यक निर्णय लिने जनाएको छ।