काठमाडौं, १३ माघ २०८२ – नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। यसपटक पार्टीले १०६ जना नयाँ अनुहारलाई मैदानमा उतारेको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार, बागी उम्मेदवारी दिएका केही नेताहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन औपचारिक निर्देशन दिइएको छ र अधिकांशले निर्देशन मान्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
“जहाँ–जहाँ बागी उम्मेदवारीको स्थिति थियो, त्यहाँ पार्टीको निर्देशन अनुसार प्रायः सबैले फिर्ता लिएका छन्। अब हामी पूर्ण रूपमा निर्वाचन केन्द्रित छौं,” उनले जानकारी दिए।
पार्टीले सातै प्रदेश, जिल्ला, स्थानीय तह र वडास्तरका सबै संगठनलाई चुनावी तयारीमा पूर्ण सक्रिय हुन निर्देशन दिएको छ। चुनावी प्रचारमा डिजिटल प्रविधि र सामाजिक सञ्जाललाई प्राथमिकता दिइने योजना रहेको प्रवक्ता चालिसेले बताए।
कांग्रेसले आन्तरिक अनुशासन सुदृढ पार्न नयाँ आचारसंहिता पनि जारी गरेको छ। यसमा पार्टीभित्रको एकता कायम राख्न, राष्ट्रिय झण्डाको सम्मान गर्न र आधुनिक प्रचार(प्रसारको माध्यम प्रयोग गर्न विशेष जोड दिइएको छ।
हालै सम्पन्न विशेष महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा र उत्प्रेरणा थपेको छ। चालिसेले भने, “महाधिवेशनमा सहभागी नहुनेहरू समेत अब पार्टी गतिविधिमा सक्रिय हुँदै आएका छन्। अन्य दलका केही नेता–कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गर्दै छन्।”
कांग्रेसले यस पटकको निर्वाचनमा सङ्गठनात्मक एकता, अनुशासन र डिजिटल प्रचार रणनीतिलाई मुख्य आधार बनाउँदै आफ्नो उपस्थितिलाई बलियो बनाउने रणनीति तय गरेको छ।