Logout

चर्चामा

निर्वाचन आयोगद्वारा आचारसंहिता उल्लङ्घनबारे सात निकायलाई स्पष्टीकरण सोधियो

581 Shares

 

काठमाडौं, माघ १३, २०८२ – निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लङ्घनको सम्भावित घटनाबारे सात व्यक्ति र निकायलाई लिखित स्पष्टीकरण माग गरेको छ। आयोगले राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालयसमेतलाई यस विषयमा जवाफ दिन निर्देशन दिएको हो।

नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई सामाजिक सञ्जालमार्फत अर्का उम्मेदवार र दलविरुद्ध गाली, द्वेषपूर्ण टिप्पणी वा भ्रामक सामग्री सार्वजनिक गरेको आरोपमा स्पष्टीकरण मागिएको छ। आयोगका अनुसार यो कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ अन्तर्गतको खण्ड (ञ) र (ण) उल्लङ्घन हुनसक्ने छ।

त्यसैगरी श्रम संस्कृति पार्टी ले दलको लोगो, नाम, उम्मेदवारको तस्बिर अंकित टी–सर्ट लगाएर बालबालिकालाई प्रयोग गरेको विषयमा पनि आयोगले स्पष्टीकरण मागेको छ। यसले दफा १३ को उपदफा (१) खण्ड (घ) उल्लङ्घन गर्न सक्ने देखिन्छ।

कमल भुसाल (डा. निकोलस) लाई जेन–जी आन्दोलनको समय रगतले लतपतिएको भनिएको भाइरल जुत्तासँग सम्बन्धित उजुरीबारे पनि स्पष्टीकरण सोधिएको छ।

साथै, नेपाल स्वास्थ्य स्वयम्सेवक सङ्घ लाई ट्रेड युनियन अधिवेशनसम्बन्धी उजुरी प्राप्त भएको भन्दै तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन गरिएको छ।

विद्यालय क्षेत्रका आधारभूत विद्यालय, श्रीसिया, आदर्श चोक का बालविकास शिक्षिका सन्तोषी गुप्तासँग सम्बन्धित उजुरीबारे पनि दुई दिनभित्र स्पष्टीकरण मागिएको छ। आयोगले यस विषयमा दफा १० को खण्ड (च) उल्लङ्घन भएको हुनसक्ने जनाएको छ।

उल्लिखित उम्मेदवारहरूमध्ये नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का भक्तपुर–२ का उम्मेदवार महेश बस्नेत लाई मधेसी समुदायको सांस्कृतिक पहिचानमाथि प्रहार, भाषिक नश्लवाद र घृणास्पद अभिव्यक्तिको उजुरी आएपछि स्पष्टीकरण मागिएको छ। यस विषयमा संविधानको धारा १८, निर्वाचन आचारसंहिता २०८२ को दफा ४ र १३, मुलुकी अपराध संहिता २०७४ को दफा १५६, र विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ समेत उल्लङ्घन भएको हो कि होइन भन्ने जाँच भइरहेको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह लाई सामाजिक सञ्जालमा सार्वजनिक बहसको क्रममा लेखिएका प्रतिक्रियाबारे स्पष्टीकरण सोधिएको छ।

निर्वाचन आयोगले यसअघि पनि आचारसंहिता उल्लङ्घनको उजुरी आएपछि आठ निकायलाई स्पष्टीकरण मागिसकेको छ। आजसम्म १५ वटा नयाँ उजुरी आएपछि आयोगले थप स्पष्टीकरण सोधेको हो। हालसम्म केवल एउटा निकायबाट मात्र जवाफ प्राप्त भएको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार