Logout

चर्चामा

लाइसेन्स घोटाला पर्दाफास यातायात कार्यालयका १७ कर्मचारी र ट्राफिक प्रहरीको मोबाइल अख्तियारले नियन्त्रणमा लियो

231 Shares

 

काठमाडौं, १३ माघ ।
सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० वितरणमा भइरहेको संगठित अनियमितता खुल्दै जाँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलो कारबाही गरेको छ । अख्तियारले यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित १७ कर्मचारी र ट्राफिक प्रहरीका मोबाइल फोन जफत गरेको हो ।

अख्तियार स्रोतका अनुसार चाबहिलस्थित यातायात कार्यालयका प्रमुख ९नवौं तह० पेशलकुमार पोखरेलसहित १७ कर्मचारीबाट २५ थान मोबाइल फोन नियन्त्रणमा लिइएको छ । यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत असई डोरहरि नेपालसहित ३ जना ट्राफिक प्रहरीका मोबाइल पनि जफत गरिएको छ ।

यस प्रकरणमा निजी क्षेत्र पनि मुछिएको देखिएको छ । नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित ७ जनाबाट ९ थान मोबाइल अख्तियारले नियन्त्रणमा लिएको जनाएको छ ।

अनुसन्धानका क्रममा लिखित परीक्षामा फेल भएको मितिले तीन महिना नपुग्दै पुनः परीक्षा दिन सहभागी गराइएका परीक्षार्थीहरूको उत्तरपुस्तिका समेत जफत गरिएको छ । नियमविपरीत प्रक्रिया अपनाई परीक्षार्थीलाई पास गराइएको आशंकामा अख्तियारले प्रमाण संकलन तीव्र बनाएको हो ।

प्रारम्भिक छानबिनबाट कर्मचारी, प्रहरी र बिचौलियाबीचको मिलेमतोमा ५ हजारदेखि १० हजार रुपैयाँसम्म रकम लिएर फेल भएका परीक्षार्थीलाई पास गराउने गरेको खुल्न थालेको अख्तियार स्रोतले बताएको छ ।

अख्तियारले जफत गरिएका मोबाइलको डिजिटल फरेन्सिक परीक्षणमार्फत थप प्रमाण संकलन गरिरहेको र आवश्यक परे थप पक्राउ पनि हुन सक्ने संकेत दिएको छ । यस घटनाले लाइसेन्स प्रणालीभित्रको गहिरो विकृति फेरि एकपटक सतहमा ल्याएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार