Logout

चर्चामा

सर्लाहीमा दादुराको संक्रमण फैलिँदै, २३ बालबालिकामा पुष्टि एक संक्रमितबाट १८ जनासम्म सर्न सक्ने स्वास्थ्यकर्मीको चेतावनी

186 Shares

 

माघ १३, काठमाडौं
सर्लाही जिल्लाको मलङ्गवा नगरपालिकामा दादुराको संक्रमण फैलिएको छ । हालसम्म २३ जना बालबालिकामा दादुरा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार २२ पुसमा मलङ्गवा नगरपालिका–३ का एक बालकमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । प्रारम्भिक शंकाका आधारमा गरिएको परीक्षणले दादुरा पुष्टि गरेपछि स्वास्थ्यकर्मीहरूले थप सतर्कता अपनाएका थिए । त्यसपछि सो बालकको सम्पर्कमा आएका अन्य बालबालिकामा पनि समान लक्षण देखिन थालेको र परीक्षण गर्दा उनीहरू सबैमा दादुरा पुष्टि भएको हो ।

अहिलेसम्म दादुराको लक्षण देखिएका २३ जनामध्ये २२ जना मुस्लिम समुदायका बालबालिका रहेका छन् । संक्रमित बालबालिकाको उमेर ६ महिनादेखि ११ वर्षसम्म रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप नलगाउँदा जोखिम बढ्यो

परिवार कल्याण महाशाखा अन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार पहिलो संक्रमित बालक मदरसामा अध्ययन गर्ने विद्यार्थी थिए । मदरसा जाने अन्य बालबालिकामा पनि लक्षण देखिएपछि निगरानीमा राखी परीक्षण गर्दा दादुरा पुष्टि भएको हो ।

स्वास्थ्यकर्मीहरूको प्रारम्भिक अध्ययनअनुसार खोप नलगाउने प्रवृत्ति संक्रमण फैलिनुको प्रमुख कारण बनेको छ । विशेषगरी मुस्लिम समुदायमा खोपप्रतिको हिचकिचाहटका कारण धेरै बालबालिका नियमित खोपबाट वञ्चित हुँदै आएका छन् ।

स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा। नवलकिशोर झाका अनुसार संक्रमित बालबालिकाले दादुराको खोप नलिएको पाइएको छ । “खोप नलिएका बालबालिकामा प्रतिरोधात्मक क्षमता नबनेका कारण एक जना संक्रमितबाट धेरैमा रोग सर्न सक्छ,” उनले भने ।

सीमापारिबाट संक्रमण आएको आशंका

स्वास्थ्य टोलीले भारतको सीमावर्ती क्षेत्रमा केही महिनाअघि देखिएको दादुराको प्रकोपसँग यो संक्रमण जोडिएको हुन सक्ने आशंका गरेको छ । भारतीय क्षेत्रबाट आएका व्यक्तिहरूमार्फत संक्रमण फैलिएको हुन सक्ने भए पनि यसबारे विस्तृत अनुसन्धान भइरहेको डा। झाले जानकारी दिए ।

८ हजार बालबालिकालाई लक्षित खोप अभियान

दादुराको जोखिम बढेपछि मलङ्गवामा ६ महिनादेखि १५ वर्षमुनिका करिब ८ हजार बालबालिकालाई लक्षित गरी खोप अभियान सुरु गरिएको छ । मदरसा, विद्यालय तथा सार्वजनिक स्थानमा खोप केन्द्र स्थापना गरी घरमै बस्ने बालबालिकासमेत खोपको पहुँचमा ल्याउने प्रयास भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अत्यन्त संक्रामक रोग

वरिष्ठ बालरोग विशेषज्ञ डा। रामहरि चापागाईंका अनुसार दादुरा अत्यन्त छिटो सर्ने संक्रामक रोग हो । “एक जना संक्रमितबाट १८ जनासम्ममा संक्रमण सर्न सक्छ, जुन कोरोना भाइरसभन्दा पनि बढी संक्रामक हो,” उनले बताए ।

दादुराबाट निमोनिया, पखाला, कानको संक्रमण, अन्धोपन र मस्तिष्कसम्बन्धी जटिलता देखिन सक्ने र गम्भीर अवस्थामा मृत्युसमेत हुन सक्ने चिकित्सकहरूको चेतावनी छ ।

लक्षण देखिए तुरुन्त आइसोलेसन आवश्यक

चिकित्सकहरूका अनुसार तीव्र ज्वरो, रुघाखोकी, आँखा रातो हुने, मुखभित्र सेतो दाग देखिनु र पछि शरीरभरि बिमिरा देखिनु दादुराका प्रमुख लक्षण हुन् । यस्ता लक्षण देखिएमा बालबालिकालाई तुरुन्त आइसोलेसनमा राखी स्वास्थ्य संस्थामा लैजानु आवश्यक छ ।

दादुराबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको समयमै खोप लगाउनु नै हो । स्वास्थ्य अधिकारीहरूले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई नियमित खोप अनिवार्य रूपमा लगाउन आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार