१३ माघ, वीरगञ्ज।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। प्रमुख राजनीतिक दलका उम्मेदवारहरू यतिबेला घरदैलो, कार्यकर्ता भेटघाट र जनसम्पर्कमा व्यस्त देखिन्छन्।
वीरगञ्ज महानगरको पश्चिमी क्षेत्र समेटिएको पर्सा–४ मा शहरी मतदाता, उद्योगी–व्यवसायी, मजदुर तथा मध्यम वर्गको उल्लेख्य उपस्थिति छ। करिब ९५ हजार मतदाता रहेको यस क्षेत्रमा अघिल्ला निर्वाचनहरूमा नेपाली कांग्रेस र वामपन्थी दलबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको थियो। तर यसपटक भने नयाँ दल र फरक पृष्ठभूमिका उम्मेदवार मैदानमा उत्रिँदा बहुपक्षीय प्रतिस्पर्धा हुने संकेत देखिएको छ।
नेपाली कांग्रेसले यस निर्वाचन क्षेत्रमा अनुभवी नेता रमेश रिजाललाई उम्मेदवार बनाएको छ। लामो समयदेखि पार्टी संगठनमा सक्रिय रिजालले शहरी क्षेत्र र व्यापारी वर्गमा राम्रो पकड बनाएका छन्। उनी २०७९ सालको निर्वाचनमा नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
छ दशकभन्दा बढी समय राजनीतिमा सक्रिय रिजाल आठ पटक चुनावी मैदानमा उत्रिसकेका छन्। विद्यार्थी राजनीतिबाट उदाएका उनले विभिन्न राजनीतिक आन्दोलनका क्रममा जेल जीवन समेत बिताएका छन्। कांग्रेसभित्र देखिएको गुटगत राजनीति र युवा मतदाताको बदलिँदो सोच भने उनको लागि चुनौतीका रूपमा देखिन्छ।
यता नेकपा एमालेले संगठनात्मक शक्ति र कार्यकर्ता परिचालनलाई मुख्य आधार बनाएर चुनावी तयारी गरिरहेको छ। एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरी यस क्षेत्रका परिचित नेता हुन्। उनी मजदुर र निम्न आयवर्गमा प्रभावशाली मानिन्छन्। यसअघि माओवादी केन्द्रबाट जगरनाथपुर गाउँपालिकाको अध्यक्ष बनेका मन्सुरी पछि एमाले प्रवेश गरेका हुन्। २०७९ को निर्वाचनमा पराजित भए पनि यसपटक कडा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।
कांग्रेस र एमालेबीच सिधा प्रतिस्पर्धा भएमा परिणाम निकै रोचक हुने स्थानीय जानकारहरूको भनाइ छ।
यसबीच नेकपा का उम्मेदवार जयप्रकाश थारू पनि मतदातामाझ चर्चामा छन्। पर्साको स्थानीय राजनीतिमा लामो समयदेखि सक्रिय थारू यसअघि संविधानसभा सदस्य समेत भइसकेका नेता हुन्। पछिल्ला निर्वाचनहरूमा पराजय बेहोरे पनि उनी स्थानीय स्तरमा चिनिएका व्यक्तित्व मानिन्छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि यस क्षेत्रमा प्रभाव जमाउने प्रयास गरिरहेको छ। सुशासन र पुराना दलप्रतिको असन्तुष्टिलाई एजेन्डा बनाउँदै रास्वपाले युवा तथा शिक्षित मतदातालाई आकर्षित गर्ने रणनीति अपनाएको छ। माओवादी केन्द्रको केन्द्रीय सदस्य रहिसकेका टेकबहादुर शाक्यको उम्मेदवारीले पार्टीलाई नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ।
जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार कृपासिन्धु चौधरीको उपस्थितिले पनि चुनावी समीकरणलाई थप जटिल बनाएको छ। कांग्रेस पृष्ठभूमिबाट राजनीति सुरु गरेका चौधरीलाई बौद्धिक छविका नेताका रूपमा लिइन्छ। उनको उम्मेदवारीलाई कांग्रेसभित्रको असन्तुष्टिको संकेतका रूपमा समेत हेरिएको छ।
यस क्षेत्रमा श्रम संस्कृति पार्टी ले पनि उम्मेदवार उठाएको छ। स्थानीय तहको निर्वाचनमा सक्रिय रहँदै आएका विष्णु लोप्चनलाई पार्टीले प्रतिनिधिसभा उम्मेदवार बनाएको हो।
पुराना र नयाँ उम्मेदवारबीचको प्रतिस्पर्धाले पर्सा–४ को निर्वाचन यसपटक झनै चासोपूर्ण बनेको छ। चुनावी परिणामले यस क्षेत्रको राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।