१३ माघ, काठमाडौं ।
राजनीतिमा नयाँ उदाएका शक्तिप्रति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा स्टन्ट देखाएर र चुनावी प्रतीक बजाएर मात्रै देश चलाउन नसकिने उनको दाबी छ।
मंगलबार चुरे भावर पार्टीलाई आफू संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले नाम नलिइकनै काठमाडौं महानगरका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङप्रति कटाक्ष गरे। तीन वर्षअघि ‘लोकतान्त्रिक गणतन्त्रको बगैंचामा फुलेका सुन्दर फूल’ भनेर प्रशंसा गरेका प्रचण्ड अहिले भने ती प्रवृत्तिप्रति आलोचक देखिएका छन्।
उनले भने, “इतिहास, विचार र राजनीतिक मूल्यमा आधारित आन्दोलनलाई बलियो बनाउनुपर्छ। नत्र त स्टन्ट गरेकै भरमा लोकप्रिय हुने र त्यस्तालाई नै देशी–विदेशी शक्तिले ठूलो लगानी गरेर अगाडि बढाइरहेको दृश्य हामीले देखिरहेका छौँ।”
प्रचण्डको भनाइमा अहिलेको राजनीतिमा विचार र सिद्धान्तको गहिरो अभाव देखिएको छ। सामाजिक सञ्जाललाई प्रयोग गरेर जनताको भावनामा खेल्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे।
“सोसल मिडियामा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ,” उनले भने, “घण्टी बजाएर मात्रै हुनेवाला केही छैन। समस्या देखाउने मात्रै होइन, समाधान दिने क्षमता चाहिन्छ।”
उनले चुनावी नाराबाजी र प्रतीकात्मक लोकप्रियताले दीर्घकालीन राजनीतिक रूपान्तरण सम्भव नहुने तर्क गरे। विचार, संगठन र संघर्षको बाटोबाट मात्रै राजनीति बलियो बन्ने उनको निष्कर्ष छ।
कार्यक्रममा प्रचण्डले वैचारिक आन्दोलनलाई अझै संगठित र सशक्त बनाउने आवश्यकता औँल्याउँदै अहिलेको राजनीतिक बहस सतही बन्दै गएकोप्रति असन्तुष्टि जनाए। उनका अनुसार गहिरो बहस र सिद्धान्तविनाको राजनीतिले लोकतन्त्रलाई कमजोर बनाउने खतरा हुन्छ।
नयाँ पुस्तामा लोकप्रिय हुँदै गएका वैकल्पिक शक्तिप्रति प्रचण्डको यो अभिव्यक्तिलाई आगामी राजनीतिक ध्रुवीकरणसँग जोडेर हेरिएको छ।