Logout

चर्चामा

उपत्यकाको उम्मेदवारीमा नेवार समुदाय ओझेलमा

544 Shares

 

१३ माघ, काठमाडौं

काठमाडौं उपत्यकामा नेवार समुदाय ऐतिहासिक, सांस्कृतिक र जनसांख्यिक रूपमा प्रमुख मानिन्छ । तर आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले उम्मेदवार चयन गर्दा यही समुदायलाई अपेक्षाकृत कम प्राथमिकता दिएको देखिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा ९एकीकृत०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले उपत्यकाका निर्वाचन क्षेत्रमा टिकट बाँडफाँट गर्दा नेवार समुदायको सहभागिता सीमित देखिएको हो । यसले आफ्नै थातथलोमा प्रतिनिधित्व कमजोर बनेको भन्दै असन्तुष्ट आवाज उठ्न थालेका छन् ।

कांग्रेसमा न्यून प्रतिनिधित्व

नेपाली कांग्रेसले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये केवल तीन ठाउँमा मात्रै नेवार समुदायबाट उम्मेदवार उठाएको छ । काठमाडौं जिल्लाका १० क्षेत्रमध्ये कांग्रेसबाट नेवार समुदायको प्रतिनिधित्व गर्ने उम्मेदवार एक जनामात्र रहेका छन् ।

ललितपुरका तीनमध्ये दुई क्षेत्रमा भने कांग्रेसले नेवार उम्मेदवारलाई अघि सारेको छ । तर भक्तपुरका दुवै क्षेत्रमा कांग्रेसका उम्मेदवार नेवार समुदायका छैनन् ।

एमाले र नेकपाको अवस्था

नेकपा एमालेले उपत्यकाका १५ मध्ये ६ क्षेत्रमा नेवार समुदायका उम्मेदवार उठाएको छ । काठमाडौं जिल्लामा एमालेले पाँच क्षेत्रमा नेवार समुदायलाई प्रतिनिधित्व गराएको भए पनि भक्तपुरका दुवै क्षेत्रमा भने नेवार उम्मेदवार छैनन् । ललितपुरमा पनि एक क्षेत्रमै सीमित छ ।

अन्य दलको तुलनामा नेकपाले भने उपत्यकामा बढी नेवार समुदायलाई अवसर दिएको देखिन्छ । १५ उम्मेदवारमध्ये ८ जना नेवार समुदायबाट छन् । विशेषगरी ललितपुरका तीनै क्षेत्रमा नेकपाले नेवार उम्मेदवार अघि सारेको छ ।

रास्वपा र राप्रपामा झन् कम

राष्ट्रिय स्वतन्त्र पार्टीले उपत्यकाका १५ सिटमध्ये जम्मा दुई क्षेत्रमा मात्रै नेवार समुदायबाट उम्मेदवार बनाएको छ । काठमाडौंका १० क्षेत्रमा एक जना मात्र नेवार उम्मेदवार छन् ।

अर्कोतर्फ, राष्ट्रिय प्रजातन्त्र पार्टीले उपत्यकाका कुनै पनि क्षेत्रमा नेवार समुदायबाट उम्मेदवार नउठाएको देखिन्छ ।

कुल उम्मेदवारीमा पनि कमजोर उपस्थिति

प्रमुख दलमा मात्र होइन, समग्र उम्मेदवारीको तथ्यांक हेर्दा पनि नेवार समुदायको संख्या कम देखिन्छ । काठमाडौंका १० निर्वाचन क्षेत्रमा रहेका २५३ उम्मेदवारमध्ये ६३ जना मात्रै नेवार समुदायका छन् । ललितपुरमा ७१ मध्ये २४ र भक्तपुरमा ५७ मध्ये १८ जना मात्रै नेवार उम्मेदवार छन् ।

असन्तुष्टि र प्रश्न

यस अवस्थाप्रति नागरिक अगुवा मल्ल के सुन्दरले राजनीतिक दलहरूले नेपालको सामाजिक विविधता आत्मसात गर्न नसकेको टिप्पणी गर्छन् । उनका अनुसार लोकतन्त्र प्रभावकारी हुन समावेशी प्रतिनिधित्व अनिवार्य हुन्छ ।

“यो केवल एउटा समुदायको मात्र विषय होइन,” उनी भन्छन्, “सबै जाति, धर्म, भूगोल र समुदायले अपनत्व महसुस गर्न सक्ने व्यवस्था हुनुपर्छ ।”

उनका अनुसार बसाइँसराइका कारण उपत्यकामा अन्य समुदायको संख्या बढेको भए पनि प्रतिनिधित्वको सवालमा थातथलोका समुदायलाई बेवास्ता गर्न नहुने धारणा राख्छन् ।

दलहरूले उम्मेदवारी वितरणमा समावेशी चरित्र नदेखाए त्यसले दीर्घकालमा सामाजिक असन्तुलन र असन्तुष्टि बढाउन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार