काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र अनुशासित रूपमा सम्पन्न गर्न मातहतका सबै पार्टी संरचनालाई कम्तीमा १२ वटा समिति गठन गर्न निर्देशन दिएको छ। निर्वाचन व्यवस्थापनलाई चुस्त बनाउन यो निर्णय गरिएको पार्टीले जनाएको छ।
निर्वाचन परिचालन समितिका संयोजक तथा उपसभापति विश्वप्रकाश शर्माले प्रदेश, जिल्ला तथा प्रतिनिधिसभा क्षेत्र कार्यसमितिलाई परिपत्र जारी गर्दै तोकिएका समिति अविलम्ब गठन गर्न आग्रह गरेका छन्। परिपत्रमार्फत चुनावी अभियानलाई एकीकृत र परिणाममुखी बनाउने लक्ष्य लिइएको उल्लेख गरिएको छ।
परिपत्रमा भनिएको छ कि केही स्थानमा समिति गठन भइसके पनि बाँकी ठाउँमा तत्काल आवश्यक संरचना निर्माण गरी पार्टी पंक्तिलाई सक्रिय रूपमा परिचालन गर्नुपर्नेछ। निर्वाचनको तयारीदेखि प्रचार–प्रसार, समन्वय र अनुगमनसम्मका कामलाई सहज बनाउन समिति गठन अनिवार्य गरिएको कांग्रेसको भनाइ छ।
निर्देशन अनुसार निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, प्रचार–प्रसार मूल समिति, स्थानीय तह समन्वय समिति, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक तथा धार्मिक सङ्घ–संस्था समन्वय समिति, निजी क्षेत्र समन्वय समिति, १८र३० विशेष अभियान समिति, पूर्वआप्रवासी समन्वय समिति, स्थानीय प्रशासन समन्वय समिति र अनुगमन समिति गठन गर्नुपर्नेछ।
यसका साथै निर्वाचन परिचालन तथा प्रचार–प्रसार समितिअन्तर्गत आवश्यकताअनुसार उपसमिति पनि गठन गर्न सकिने व्यवस्था गरिएको छ। पार्टी नेतृत्वले जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँड गरेर संगठनलाई निर्वाचन केन्द्रित बनाउने रणनीति अपनाएको देखिन्छ।
कांग्रेसले निर्वाचनमा पार्टीको उपस्थितिलाई सशक्त बनाउँदै मतदातासम्म स्पष्ट सन्देश पुर्याउन समिति प्रणालीलाई मुख्य आधार मानेको जनाएको छ।