१४ माघ, पोखरा।
पोखरा महानगरपालिकामा फोहोर व्यवस्थापनको समस्या गहिरिँदै जाँदा सहरका सडक र चोकहरू दुई सातादेखि फोहोरले भरिएका छन्। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा यही विषय दल र उम्मेदवारहरूको प्रमुख चुनावी एजेन्डा बन्न थालेको छ।
पोखरा–३२ लामेआहारस्थित अस्थायी ल्यान्डफिल साइट भरिएपछि वैकल्पिक व्यवस्थापन नहुनु र दीर्घकालीन योजना समयमै अगाडि नबढ्दा समस्या जटिल बनेको हो। महानगरले ६ महिनाका लागि भन्दै व्यवस्थापन गरेको ल्यान्डफिल दीर्घकालीन रूपमा प्रयोग हुँदा अहिले सहरभरि फोहोर थुप्रिएको छ।
महानगर नेतृत्वमाथि बेलैमा विकल्प खोज्न नसकेको, फोहोर उठाउने जिम्मा पारदर्शी प्रक्रिया बिना दिएको तथा स्थायी ल्यान्डफिल र प्रशोधन केन्द्र निर्माणमा ढिलाइ गरेको आरोप लाग्दै आएको छ। पोखरा–३३ मा निर्माण गर्ने भनिएको फोहोर प्रशोधन केन्द्र जग्गा विवाद र स्थानीय असन्तुष्टिका कारण प्रभावित बनेको छ।
फोहोर थुप्रिँदै गएपछि पोखरा–९ शान्ति वन क्षेत्रलगायत मध्य सहरमै खाल्डो खनेर फोहोर गाड्न थालिएको छ। यसप्रति स्थानीयवासी र वातावरणविद्हरूले विरोध जनाउँदै वैज्ञानिक विधिबिना फोहोर विसर्जन गर्दा जनस्वास्थ्य र वातावरणमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।
दैनिक करिब २०० टन फोहोर उत्पादन हुने पोखरामा व्यवस्थापन नहुनु गम्भीर समस्या बनेको सरोकारवालाहरू बताउँछन्। चुनाव नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले फोहोर व्यवस्थापनलाई चुनावी मुद्दा बनाइरहेका छन् भने मतदाताले पनि उम्मेदवारसँग स्पष्ट योजना माग्न थालेका छन्।
पोखरा महानगरपालिकाले हाल पोखरा–३२ कै मझुवा क्षेत्रमा वैकल्पिक स्थान खोज्ने प्रयास गरिरहेको जनाएको छ। महानगरका अनुसार छिट्टै थुप्रिएको फोहोर उठाएर व्यवस्थापन गर्ने तयारी भइरहेको छ।
सहरभरि फैलिएको दुर्गन्धले पोखराको फोहोर समस्या केवल व्यवस्थापनको होइन, नेतृत्व र समन्वयको चुनौती बनेको संकेत गरेको छ।