धनकुटा, १४ माघ — धनकुटाका पूर्वमाओवादी मतदाताले करिब १२ वर्षपछि प्रतिनिधिसभा निर्वाचनमा आफ्नै दलको उम्मेदवारलाई मत हाल्ने अवसर पाउने भएका छन्। विगतका निर्वाचनहरूमा विभिन्न राजनीतिक गठबन्धनका कारण अन्य दलका उम्मेदवारलाई सघाउन बाध्य भएका माओवादी समर्थक मतदाताका लागि यो निर्वाचन विशेष अर्थपूर्ण बनेको छ।
तत्कालीन नेकपा माओवादी केन्द्रले २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेको थियो। त्यसैगरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्र कांग्रेस–केन्द्रित गठबन्धनमा रहेर नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोगी भूमिका खेलेको थियो। यसका कारण माओवादी मतदाताले लामो समयसम्म आफ्नै दलको उम्मेदवारलाई प्रत्यक्ष मतदान गर्न पाएनन्।
यसपटक भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि धर्मराज पौडेललाई उम्मेदवार बनाएको छ। यससँगै धनकुटाका पूर्वमाओवादी मतदाताले आफ्नै राजनीतिक धारको उम्मेदवार रोज्ने अवसर पाएका हुन्।
अनुभवी र बहुआयामिक राजनीतिक यात्रा
धनकुटाको महालक्ष्मी नगरपालिका–२ निवासी पौडेल नेपाली राजनीतिमा लामो अनुभव बोकेका नेता हुन्। उनले ग्रामिण विकास विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्। राजनीतिक जीवनअघि उनी शिक्षण पेशामा आबद्ध थिए। २०४० देखि २०४३ सालसम्म गाउँकै विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका पौडेल २०४५ सालमा धनकुटा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति बनेका थिए।
२०४९ सालमा एमालेबाट धनकुटा जिल्ला विकास समितिको सभापतिमा निर्वाचित पौडेलले २०५४ सालसम्म जिल्ला नेतृत्व सम्हाले। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेकै तर्फबाट प्रतिस्पर्धा गरे पनि उनी तत्कालीन माओवादी उम्मेदवारसँग पराजित भएका थिए। २०७८ सालमा एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादी हुँदै हाल एकीकृत कम्युनिस्ट धारको नेकपामा केन्द्रीय सदस्य बनेका छन्।
कडा प्रतिस्पर्धाको संकेत
धनकुटामा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक देखिएको छ। एमाले, कांग्रेससहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा विभिन्न साना दल र स्वतन्त्र उम्मेदवारहरू मैदानमा छन्। विगतमा निर्णायक भूमिका खेलेको माओवादी मत आधार यसपटक कुन दिशामा जाने भन्ने कुराले निर्वाचन परिणाममा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ।
धनकुटा जिल्लामा प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको छ। यहाँ १ लाख १८ हजार ४ सय २५ जना मतदाता रहेका छन्। जिल्लाभर १ सय १९ मतदानस्थल र १ सय ६६ मतदान केन्द्र तोकिएका छन्।
विगतको मत परिणाम
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ धनकुटामा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा थियो। यस तथ्यांकले पनि यसपटक एकीकृत कम्युनिस्ट दलको उम्मेदवारले कति मत तान्न सक्छ भन्ने प्रश्नलाई चासोको विषय बनाएको छ।