काठमाडौं, माघ १४
काठमाडौं महानगरपालिकाले बागबजार र बबरमहल क्षेत्रमा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ। वर्षायाममा बारम्बार देखिँदै आएको जलनिकासको समस्या समाधान गर्न महानगरले यी दुई स्थानमा संरचना निर्माण गर्न लागेको हो।
महानगरका अनुसार पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्कतर्फ जाने सडकखण्ड अन्तर्गत टुकुचा खोलामा रहेको पुरानो ह्युम पाइप जीर्ण भइसकेको छ। पानीको बहाव अवरुद्ध हुँदा बर्खाको समयमा डुबान र सडक कटानको जोखिम बढेकाले नयाँ बक्स कल्भर्ट निर्माण आवश्यक भएको जनाइएको छ।
निर्माण कार्य सुरु भएपछि सो सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ। यस अवधिमा सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गराउन ट्राफिक प्रहरीसँग समन्वय गरिएको महानगरले जनाएको छ। डिल्लीबजार र पुतलीसडक हुँदै बागबजार जाने सवारी साधनका लागि कमलादी मोड हुँदै गणेश मन्दिर र घण्टाघर क्षेत्रको सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिनेछ।
महानगरका अनुसार बागबजार क्षेत्रमा निर्माण हुने बक्स कल्भर्टको सम्झौता रकम करिब ५७ लाख रुपैयाँ रहेको छ भने लागत अनुमान ७० लाख रुपैयाँभन्दा बढी छ। निर्माण कार्य दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सो कल्भर्ट सडकतर्फ ५ मिटर र पानी बहाव हुने भागतर्फ १४ मिटर लामो हुने जनाइएको छ।
यसैगरी बबरमहल क्षेत्रअन्तर्गत धोबीखोला नजिक रोजबड स्कुल आसपास पनि बक्स कल्भर्ट निर्माण गरिनेछ। यस स्थानमा रहेको फलामे पुल विगतको बाढीले क्षति पुर्याएपछि नयाँ संरचना आवश्यक भएको बताइएको छ। उक्त कल्भर्ट निर्माणका लागि करिब २ करोड २१ लाख रुपैयाँको सम्झौता भएको छ भने लागत अनुमान ३ करोड ७१ लाख रुपैयाँ रहेको छ।
बबरमहल क्षेत्रमा निर्माण हुने कल्भर्टको लम्बाइ १७ मिटर र उचाइ ७ मिटर रहनेछ। महानगरले उक्त निर्माण कार्य २०८३ पुस मसान्तरभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ।
महानगरपालिकाले यी संरचना निर्माणपछि वर्षायाममा हुने जलजमाव र बाढीजन्य जोखिम उल्लेख्य रूपमा घट्ने विश्वास व्यक्त गरेको छ।