Logout

चर्चामा

रास्वपामा अर्यालको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन समिति गठन

509 Shares

 

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ। पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा समिति गठन गरिएको हो।

 

पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार गठन गरिएको उक्त समितिले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सशक्त उपस्थिति जनाउने लक्ष्य लिएको छ। रास्वपाले निर्वाचनमार्फत दुई तिहाइ मत हासिल गरी सक्षम र प्रभावकारी सरकार निर्माण गर्ने उद्देश्यसमेत अघि सारेको छ।

 

निर्वाचन सम्पादन समितिको सदस्य–सचिवमा शङ्कर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ। समितिअन्तर्गत सातै प्रदेशमा समन्वय समिति गठन गरिएको छ भने प्रदेशस्तरमा समन्वय सचिव र सदस्यहरूको समेत टुंगो लगाइएको पार्टीले जनाएको छ।

 

त्यसैगरी, पार्टीले निर्वाचन व्यवस्थापनलाई थप व्यवस्थित बनाउन तीनवटा विशेष समिति पनि गठन गरेको छ। जसअन्तर्गत आन्तरिक समन्वय उपसमिति, प्रशासनिक समन्वय उपसमिति तथा सञ्चार समन्वय समिति रहेका छन्।

 

रास्वपाले यी समितिहरूमार्फत संगठनलाई सुदृढ गर्दै निर्वाचन अभियानलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ। पार्टी नेतृत्वका अनुसार आगामी निर्वाचन देशको राजनीतिक दिशा बदल्ने महत्वपूर्ण अवसर भएको भन्दै सम्पूर्ण संरचनालाई त्यसअनुसार परिचालन गरिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार