काठमाडौं – चर्चित बलिउड पाश्र्वगायक कैलाश खेरले आगामी नेपाली फिल्म ‘शिवांश’ का लागि गीत गाएका छन्। उनको आवाजमा रहेको ‘शिव ताण्डव’ शीर्षकको गीत हालै युट्युबमार्फत रिलिज भएको छ।
फिल्म १ फागुनबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ। यो खेरको नेपाली गीतमा तेस्रो प्रयास हो। यसअघि उनले सन् २०१० मा रिलिज भएको फिल्म ‘काठमाण्डू’ को मुख्य गीत र सन् २०१५ मा सुष्मा राणासँग ‘फूलको थुंगा’ गीत गाइसकेका छन्।
भिडियो सन्देश मार्फत खेरले नेपाली फ्यानप्रति आभार व्यक्त गर्दै भने, “नेपालका दर्शकहरूले मेरो गीतहरूलाई जुन माया दिनुहुन्छ, त्यसको मूल्य शब्दमा व्यक्त गर्न सक्दिनँ।” उनले फिल्मलाई भारत–नेपाल मैत्री सम्बन्धको प्रतीकका रूपमा प्रस्तुत गरिएको बताए।
‘शिवांश’ को निर्देशन सन्तोषकुमार आत्रेयले गरेका छन् भने निर्माता अञ्जान केसी हुन्। फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बु र रुषा न्यौपाने मुख्य भूमिकामा छन्। पटकथा बारत लिम्बुले लेखेका हुन्।
खेरको स्वरमा तयार गरिएको ‘शिव ताण्डव’ गीतले दर्शकलाई सांगीतिक र सांस्कृतिक रूपमा भारत–नेपालको प्रगाढ सम्बन्ध झल्काउने विश्वास गराइएको छ।