हिपहप स्टार निकी मिनाजले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सरकारी कार्यक्रममा भेट हुँदा आफूलाई राष्ट्रपतिको “सबैभन्दा ठूलो फ्यान” भएको बताइन्। उनले नयाँ सरकारी लगानी योजना ‘ट्रम्प एकाउन्ट्स’लाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन्।
कार्यक्रममा सेतो भुवादार कोटमा सजिएकी निकीले ट्रम्पको हात समाउँदै आफ्नो लामो समयदेखि रहेको समर्थन प्रकट गरिन्। उनले भनिन्, “म सायद राष्ट्रपतिको सबैभन्दा ठूलो फ्यान हुँ, र यो कुरा कहिल्यै बदलिने छैन।” निकिले आफ्नो तर्फबाट १ लाख ५० हजारदेखि ३ लाख डलरसम्म सहयोग गर्ने तयारी भएको पनि बताइन्।
निकि मिनाजले आफ्नो राजनीतिक निर्णयका कारण हुन सक्ने आलोचनाको कडा जवाफ दिँदै भनिन्, “मानिसहरूले जे भन्छन्, त्यसले मलाई रोक्दैन। म ट्रम्पको समर्थन जारी राख्नेछु। उनका विरोधीहरूले केही पनि गर्न सक्दैनन्।”
कार्यक्रममा ट्रम्पले पनि निकिको प्रशंसा गर्न पछि परेनन्। उनले उनलाई “इतिहासकै सबैभन्दा महान महिला र्यापर” भने र रमाइलो शैलीमा उनको लामो नङको विषय पनि उल्लेख गरे।
कार्यक्रमपछि निकिले सामाजिक सञ्जालमा ‘ट्रम्प गोल्ड कार्ड’ समातेको फोटो सेयर गर्दै आफ्नो नागरिकताको विषयमा उठेका प्रश्नहरूलाई सम्बोधन गरिन्।
निकिको यो नयाँ राजनीतिक सक्रियताले उनका फ्यानहरूलाई दुई धारमा बाँडेको छ। केही उत्साहित छन् भने केही आलोचना गरिरहेका छन्। तर ट्रम्पप्रतिको उनको समर्थन र स्पष्ट राजनीतिक झुकाव अहिले सामाजिक सञ्जालमा व्यापक चर्चामा छ।