१६ माघ, काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपालमा पटक–पटक शासन व्यवस्था परिवर्तन भए पनि सत्ताको चरित्र जस्ताको तस्तै रहेको टिप्पणी गरेका छन्।
शहीद दिवसको अवसरमा शुक्रबार शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बालेनले ८५ वर्षको राजनीतिक इतिहास स्मरण गर्दै भने, “राणाशासनको अन्त्यका लागि बलिदान दिने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको हत्या भएको यतिका वर्ष बितिसक्दा पनि राज्य अझै जनतामुखी बन्न सकेन।”
उनका अनुसार राणाशासन समाप्त भए पनि त्यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गर्नुपर्यो। “८५ वर्षमा शासन प्रणाली त फेरिए, तर सत्ताको प्रवृत्ति फेरिन सकेन,” उनले उल्लेख गरेका छन्।
बालेनले शहीदहरूको सपना अझै पूरा हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै हालैको भदौ महिनामा भएको जेन–जी आन्दोलनको उदाहरण दिएका छन्। सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले समेत ज्यान गुमाउनुपरेको भन्दै उनले राज्यको संवेदनशीलतामाथि प्रश्न उठाएका छन्।
उनले भ्रष्टाचारको गहिरो जरा उखेल्दै सुशासन स्थापना गर्नु अहिलेको मुख्य जिम्मेवारी भएको बताए। साथै, राज्यका निकायमा बढ्दो दलीयकरण अन्त्य गरी जवाफदेही र पारदर्शी शासन प्रणाली निर्माण गर्न आफूहरू प्रतिबद्ध रहेको दाबी गरे।
“शहीदहरूको बलिदानलाई नजरअन्दाज गर्ने छुट अब कसैलाई छैन,” बालेनले भनेका छन्, “अब समय आएको छ—शहीदका सपनालाई व्यवहारमा उतार्ने, सुशासनयुक्त र भ्रष्टाचारमुक्त नेपाल बनाउने।”
सम्पूर्ण ज्ञात तथा अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले फेरि कसैले शहीद बन्नु नपर्ने अवस्था सिर्जना गर्न सबैले मन, वचन र कर्मले प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन्।