१६ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक तोकिएकै समयसीमाभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको नेपाली सेनाले जनाएको छ।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले नेपाल सरकारबाट प्राप्त समयसीमा अनुसार २०८३ चैत मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए। उनका अनुसार निर्धारित समयमै आयोजना सक्ने गरी सबै पक्षबाट प्रयास जारी छ।
हालसम्म फास्ट ट्र्याकको भौतिक प्रगति ४५।१६ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४५।३३ प्रतिशत रहेको सेनाले जनाएको छ।
यो आयोजनामा कुल १०।९७९ किलोमिटर लामो सुरुङ मार्ग निर्माण गर्नुपर्ने छ। जसमध्ये लेनडाँडाको १।६२६ किलोमिटर र धेद्रेको १।६९१ किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भइसकेको छ। महादेवटार सुरुङको करिब ७० प्रतिशत काम पूरा भइसकेको सेनाले जनाएको छ।
त्यस्तै, फास्ट ट्र्याक अन्तर्गत निर्माण हुने ८९ वटा पुलमध्ये १३ वटा पुल निर्माण सम्पन्न भएका छन् भने बाँकी पुलहरू ठेक्का प्रक्रियामा गएर निर्माण कार्य सुरु भइसकेको छ।
निर्माणका क्रममा ५४ हजार रुख कटान गर्नुपरेको भए पनि त्यसको क्षतिपूर्तिस्वरूप हालसम्म ७ लाख ५० हजार नयाँ बिरुवा रोपिएको सेनाले जनाएको छ। तीमध्ये १ लाख ५१ हजार बिरुवा हुर्काएर सामुदायिक वनलाई हस्तान्तरण गरिसकिएको छ।
यसैबीच, आयोजनासँग सम्बन्धित खोकना क्षेत्रको विवाद भने अझै समाधान हुन सकेको छैन। उक्त विवाद समाधानका लागि सम्बन्धित सबै निकायसँग समन्वय गरेर पहल भइरहेको सेनाले जानकारी दिएको छ।