531
Shares
काठमाडौं, १९ माघ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई नियन्त्रण गर्ने होइन, सक्षम बनाउने सरकारको उद्देश्य भएको स्पष्ट पारेका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपाल प्रहरी निरीक्षक दीक्षान्त समारोहमा उनले भने, “गृह मन्त्रालय प्रहरीलाई आदेश दिने मात्र होइन, अभिभावकको भूमिका पनि निर्वाह गर्छ।”
गृहमन्त्री अर्यालले प्रहरीलाई नीतिगत स्पष्टता, संस्थागत मजबुती र व्यावसायिक स्वतन्त्रता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले प्रहरीलाई शक्ति दुरूपयोग रोक्न, भ्रष्टाचार नियन्त्रण गर्न, र पूर्णतया तटस्थ तथा कानून अनुसार परिचालन हुन निर्देशन पनि दिएका छन्।
उनले थपे, “कुनै पनि तत्वले नेपाल प्रहरीको निष्पक्षता कमजोर पार्न सक्दैन। विगतमा जस्तै यसपटकको निर्वाचनमा पनि प्रहरीले आफ्नो व्यावसायिक दक्षता प्रमाणित गर्नेछ।”