दैलेख । साथीको हत्या आरोप लागेका युवकलाई भारत पुगेको एक महिना सम्म परिवारजनले फकाएर शुक्रवार जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएका छ्न् । आरोपितलाई आफ्नै बुबाले प्रहरीमा बुझाए हुन्। छोरालाई प्रहरीमा बुझाएपछि बुबाले भने ‘दोषी भए कारवाही हुन्छ, भव्यतव्य भए सफाइ पाउला ।’
गुराँस गाउँपालिका–६ जोरेबाँझका २१ वर्षीय धर्म दमाईको हत्या गरेको आरोप लागेका गुराँस गाउँपालिका–६ पिपलचौताराका २२ वर्षीय दलसिंह नेपालीलाई आरोपितका बुबा रमेश नेपाली बुझाएको खबर बाणिलाई बताएका हुन् ।
डुंगेश्वर गाउँपालिका–३ रेक्चाखोला भीरबाट २०७७ चैत २ गते खसालेर हत्या गरेको भनी पीडित पक्षले गरेको उजुरीका आधारमा परिवारको सहयोगमा दलसिंहलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।
सहोदर जेठान दलसिंहको विवाह गर्न केटी खोज्न भनी भगवतीमाई गाउँपालिका–७ तप्लुङ्ग जान भनी साथमा गएका धर्म दमाईं ३ दिनपछि स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले वेवारिसे शव पोष्टमार्टन गर्न दैलेख अस्पताल ल्याएपछि आफन्तले पहिचान गरेका थिए ।
दलसिंहका लागि विवाह गर्ने केटी खोज्न गएका दुबै जना सम्पर्क विहीन भएको समयमा र प्रहरीले बेवारिसे शव फेला पारेको भन्ने सूचनाका आधारमा अस्पताल पुग्दा चैत ६ गते धर्मको शव भन्ने पहिचान भएको धर्मका अंकल रमेश दमाईले जानकारी दिए ।
तप्लुङ्ग गाउँ जान भनी हिडिरहेको बेला चैत २ गते साँझ करिव ८ बजेतिर डुंगेश्वर गाउँपालिका–३ रेक्चाखोला भीरबाट खसेर मृत्यू भएपछि कतै कसैलाई खवर नगरेर दोश्रो दिन चैत ३ गते साँझ नेपालगञ्ज हुँदै भारत पसेको गिरफ्तार भएका दलसिंहले प्रतिक्रिया दिए ।
संगै गएका व्यक्ति बेखवर भई भारत पुगेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखमा मृतक धर्म दमाईका बुबा गंगे दमाईले ‘कर्तव्य ज्यान’ मुद्दा दिएका थिए । घटनापछि भागेर भारतको सिमला पुगेका आरोपित दलसिहंलाई उनका बुबा तिलक नेपालीले ल्याएर प्रहरीको जिम्मा लगाए ।
भारत पुगेका दलसिंहले ‘जुवाईं (धर्म दमाई) भीरबाट खसेका हुन्, डरले भागेको हुँ’ भनेकोले उनलाई भागेर भन्दा प्रहरीमा आफ्ना कुरा भन्नू राम्रो हुन्छ भनेर छोरालाई ल्याएर प्रहरीलाई बुझाएको तिलक नेपालीले बताए ।
थुनामा राख्न अनुमतिका लागि प्रहरीले म्याद थप्न अदालत लिएको बेला भएको भेटमा दलसिंहले प्रक्रिया दिए – ‘सबै कुरा गरेपछि यस्तो गर्दा ठिकै हुन्छ भन्ने लागेर सिमलाबाट आधा बाटो म हिंडें अनि हरिद्वारसम्म बुबा जानुभयो अनि सरासर प्रहरीमा आएँ ।’
नाताले जेठानको विवाहको लागि केटी खोज्न साथ लागेको जुवाई मर्ने अनि आफू चाहिं भागेर भारत पुगिसकेको अवस्थामा परिवारजनलाई ‘कन्भिन्स’ गरेर आरोपितलाई पक्राउ गर्न सकेकोमा प्रहरीको राम्रो कौशलता भनी प्रशंसा भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक डीएसपी अनुपम श्रेष्ठलको टिप्पणी छ ‘प्रहरीको दायित्व नै हो ।’
मृतक धर्म दमाईको पोष्टमार्टम शव प्राप्त भएको भोलिपल्ट चैत ६ गते दैलेख अस्पतालमा भयो । पोष्टमार्टम भएको भोलिपल्ट चैत ७ गते डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरमा हिन्दू धार्मिक संस्कार अनुसार दाहसंस्कार गरिएको थियो ।
धर्म र दलसिंह जुवाई जेठान हुन् । मृतक धर्मले दलसिंहका आफ्नै अंकलको छोरी लीलासंग ६ वर्ष अघि विवाह गरेका थिए । लीलाका ५ वर्षकी छोरी र २ वर्षको छोरा छन् ।