काठमाडौं, माघ २१ — पछिल्ला दिनहरूमा बजारमा खाना पकाउने ग्यास अभाव हुने हल्ला चलिरहे पनि नेपाल आयल निगमले यस्तो चर्चा निराधार भएको स्पष्ट पारेको छ। निगमका अनुसार हाल देशमा ग्यासको आपूर्ति मागभन्दा बढी भइरहेको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा दैनिक औसत करिब ९० बुलेट, अर्थात् करिब १ लाख १४ हजार सिलिण्डर ग्यासको माग छ। तर भारतस्थित इन्डियन आयल कर्पोरेसनबाट पछिल्ला दिनहरूमा यसभन्दा बढी मात्रामा ग्यास लोड हुँदै आएको उनले जानकारी दिए।
उनका अनुसार शनिबार मात्र ११८ बुलेट ९झण्डै १ लाख ४९ हजार सिलिण्डर० ग्यास लोड भएको थियो। त्यसैगरी सोमबार ११५ बुलेट र मंगलबार १३२ बुलेट ग्यास लोड गरिएको छ। यीमध्ये केही ग्यास नेपाल भित्रिसकेको र बाँकी बाटोमै रहेको निगमले जनाएको छ।
निर्वाचनको समयलाई लिएर आपूर्तिमा समस्या आउन सक्ने आशंका गरिए पनि सो अवधिभर नियमित रूपमा ग्यास आपूर्ति जारी रहने डा। भट्टको दाबी छ। ग्यास सहज रूपमा उपलब्ध भइरहेकाले उपभोक्ताले डरका कारण अनावश्यक रूपमा सिलिण्डर संकलन नगर्न उनले अनुरोध गरेका छन्।
निगमले अनावश्यक सञ्चयले बजारमा कृत्रिम अभावको अवस्था सिर्जना गर्न सक्ने चेतावनी दिँदै उपभोक्तालाई ढुक्क भएर दैनिक आवश्यकताअनुसार मात्र ग्यास प्रयोग गर्न आग्रह गरेको छ।