२५ माघ, बैतडी – बैतडी जिल्ला प्रहरी कार्यालयले जिल्लाभरबाट ३८७ नाल बन्दुक संकलन गरेको छ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा हतियारको दुरुपयोग रोक्ने र शान्ति सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले यस्तो कदम चालिएको हो।
जिल्ला प्रशासन कार्यालय बैतडीको माघ ६ गतेको सूचनाअनुसार इजाजत प्राप्त भरुवा बन्दुकधारीहरूलाई सूचना दिइएको थियो। सो अनुरूप जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले सक्रिय प्रहरी परिचालन र सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरी बन्दुक संकलन गरिएको प्रहरीले जनाएको छ।
बैतडीमा हाल १०८६ इजाजत प्राप्त हतियार वितरण भइसकेका छन्। चालू आर्थिक वर्षमा ४५० जनाले आफ्नो इजाजत नवीकरण गराएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूका अनुसार, सबै हतियार संकलन नहुँदा माघ मसान्तसम्म म्याद थप गरिएको छ। संकलित बन्दुकहरू निर्वाचन अवधिभर सुरक्षित राखिने र निर्वाचनपछि सम्बन्धित धनीलाई फिर्ता गरिने जानकारी पनि दिइएको छ।
प्रहरीका अनुसार यस्ता गतिविधिहरू निरन्तरता दिइएमा शान्ति सुरक्षा कायम राख्न मद्दत पुग्नेछ।