Logout

चर्चामा

प्रधानमन्त्री कार्कीले नेपाली टोलीलाई टी–२० विश्वकपमा शुभकामना दिइन्स् “वानखेडेमा हाम्रो राष्ट्रिय धुन गुञ्जिनेछ”

570 Shares

 

काठमाडौं, २५ माघ – प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक टी–२० विश्वकपमा भाग लिन लागेको नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएकी छन्। आइतबार बिहान फेसबुकमार्फत उनले नेपाली टोलीले विश्वकपमा खेल्न लागेकोमा आफ्नो खुसी व्यक्त गर्दै शुभकामना दिइन्।

प्रधानमन्त्री कार्कीले लेखेकी छन्, “आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुञ्जिनेछ, र त्यो धुन सम्पूर्ण विश्वले सुन्नेछ। कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ–नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति।”

नेपालले यसअघि पनि टी–२० विश्वकपमा भाग लिएको इतिहास छ। यस पटक पनि नेपाली टोलीसँग विश्वभरिका समर्थक र प्रशंसकहरूको ठूलो साथ छ। प्रधानमन्त्री कार्कीले विगतमा नेपाली टोलीले गरेका उत्कृष्ट प्रदर्शन र चमत्कारका क्षणलाई सम्झँदै, यस वर्षको विश्वकपमा टोलीले अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रधानमन्त्रीले थपे, “इंग्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना। विजयी भवः, अनि धेरै माया पनि।”

नेपालले आफ्नो पहिलो खेल आज दिउँसो ३स्१५ बजे मुम्बईको वानखेडे क्रिकेट रंगशालामा इंग्ल्यान्डसँग खेल्नेछ। यस खेलमा नेपाली टोलीले देखाउने प्रदर्शनले मात्र खेल प्रेमीलाई उत्साहित पार्ने होइन, सम्पूर्ण राष्ट्रको गर्व र आत्मसम्मान पनि झल्काउने अपेक्षा गरिएको छ।

टी–२० विश्वकपमा भाग लिनु नेपालको क्रिकेट इतिहासका लागि एउटा महत्वपूर्ण चरण हो, र प्रधानमन्त्री कार्कीले नेपाली टोलीका खेलाडीलाई नजिकबाट हौसला दिँदै राष्ट्रिय गौरवका साथ उत्कृष्ट खेल प्रदर्शन गर्न प्रेरित गरिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार