Logout

चर्चामा

नेपालमा जलपन्छीको संख्या उल्लेख्य रूपमा घट्यो

578 Shares

 

काठमाडौं । नेपालका विभिन्न सिमसार क्षेत्रहरूमा पाइने जलपन्छीको संख्यामा उल्लेख्य गिरावट आएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको एसियन वाटरबर्ड सेन्सस २०२६ को तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा करिब ६ हजारभन्दा बढी जलपन्छी घटेका छन्।

जनवरी ३ देखि १८ सम्म देशभरका १८ प्रमुख सिमसार क्षेत्र तथा ती अन्तर्गतका ७८ स्थानमा गरिएको गणनामा ८९ प्रजातिका कुल ९० हजार ६ सय ८८ जलपन्छी फेला परेका छन्। सन् २०२५ मा भने ९४ प्रजातिका ९६ हजार ५ सय ६५ जलपन्छी गणना गरिएको थियो।

विभागका अनुसार काठमाडौं उपत्यकाभित्रका टौदह र बागमती नदी क्षेत्रमा जलपन्छीको संख्या घट्दो क्रममा देखिएको छ। यस वर्ष यहाँ १६ प्रजातिका १ सय ६४ जलपन्छी मात्र फेला परे, जबकि गत वर्ष १८ प्रजातिका २ सय ४ पन्छी थिए।

यद्यपि सबै स्थानमा गिरावट मात्र देखिएको छैन। मनोहराफाँट, पोखरा उपत्यकाका सिमसार क्षेत्र तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जलपन्छीको संख्या बढेको विभागले जनाएको छ। शुक्लाफाँटामा मात्रै ७० प्रजातिका २२ हजारभन्दा बढी जलपन्छी गणना भएका छन्।

विज्ञहरूका अनुसार जलपन्छी घट्नु सिमसार क्षेत्रको क्षय, पानी प्रदूषण, अव्यवस्थित सहरीकरण र मानव गतिविधि बढ्नुको प्रत्यक्ष संकेत हो। जलपन्छीलाई पानीको अवस्थाको सूचकका रूपमा लिने गरिन्छ, त्यसैले यसको गिरावट वातावरणीय संकटको चेतावनी भएको उनीहरूको भनाइ छ।

हरेक वर्ष जनवरीको पहिलो शनिबारदेखि सुरु हुने जलपन्छी गणनाको उद्देश्य बसाइँसराइ गर्ने तथा पानीमा आश्रित चराको अवस्थाबारे जानकारी लिनु र सिमसार संरक्षणमा आम नागरिकको चासो र सहभागिता बढाउनु रहेको विभागले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार