Logout

चर्चामा

म्याग्दीमा एमाले र विप्लव माओवादीका उम्मेदवार एउटै मञ्चबाट मतदाता भेटे

487 Shares

 

बेनी, माघ २७ – आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीमा चुनावी अभियान जोरसँग जारी छ। प्रायः उम्मेदवारहरूले आफ्नो प्रचारमा एक अर्कालाई प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत गर्दै मत माग्ने गरेका छन्, तर अन्नपूर्ण गाउँपालिका–१ मा अलि फरक दृश्य देखियो।

म्याग्दीका नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादी ९विप्लव० का उम्मेदवार क्षेत्रबहादुर घिमिरेले मंगलबार दोवा गाउँमा एउटै मञ्चबाट मतदाता भेटे र आफ्ना योजना र विचार प्रस्तुत गरे। वडा कार्यालय र स्थानीय आमा समूहले दुवै उम्मेदवारलाई स्वागत गर्दै संयुक्त कार्यक्रमको व्यवस्था मिलाएका थिए।

एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले भने, “दुवै उम्मेदवारको कार्यक्रम एकै ठाउँमा जुधेपछि स्थानीयको आग्रहअनुसार एउटै मञ्चबाट मत मागेर उच्च राजनीतिक संस्कार प्रस्तुत गरेका छौं। यसले लोकतन्त्रको अभ्यास यसरी पनि गर्न सकिन्छ भन्ने सन्देश दिन्छ।”

कार्यक्रममा स्थानीयबासीले गुठीको जग्गा, दोवामा निर्माण भएको पाँच शैया क्षमताको अस्पताल भवनको सञ्चालन, भुरुङ्ग–तातोपानी सीमाना विवाद र भिरकाटे दोवा स्तरोन्नति लगायतका समस्या उठाए। उम्मेदवारद्वयले आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गर्दा स्थानीयबासी र उम्मेदवार दुवैको समय बचत भएको थियो।

यसअघि पनि बेनी र दरवाङमा नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच शुभकामना आदान–प्रदान भएको देखिएको थियो। म्याग्दीमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ११ दल र एक स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रमुख प्रतिस्पर्धी उम्मेदवारमा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा। महावीर पुन रहेका छन्।

मतदाता संख्या ८६,३९७ रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र १२० वटा मतदान केन्द्र छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार