Logout

चर्चामा

कोहलपुरमा १०० भन्दा बढी जेन्जी युवा नेकपा एमाले मा समाहित

552 Shares

 

कोहलपुर, बाँके।undefined
बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्र क्रियाशील १०० भन्दा बढी जेन्जी युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। आइतबार कोहलपुरस्थित पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा उनीहरू औपचारिक रूपमा एमालेमा समाहित भएका हुन्।

नवप्रवेशी युवाहरूले वर्तमान सरकारले जेन्जी युवाका समस्या, माग र अपेक्षालाई बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार जेन्जी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन हुन नसकेको, प्रतिवेदन सार्वजनिक नगरिएको तथा आन्दोलनलाई केही स्वार्थ समूहले राजनीतिक लाभका लागि दुरुपयोग गरेको अवस्था रहेको छ। यस्तो परिस्थितिमा आफ्ना आवाज उठाउन र समाधानको दिशामा लैजान सक्ने राजनीतिक शक्ति नेकपा एमाले मात्र भएको निष्कर्षसहित पार्टी प्रवेश गरेको उनीहरूको भनाइ छ।

जिल्ला सदस्य उमेशजंग शाही को पहलमा आयोजित प्रवेश कार्यक्रममा नवप्रवेशी युवाहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके क्षेत्र नं। १ का उम्मेदवार सूर्य ढकाल ले अविर र खादामाला लगाएर स्वागत गरेका थिए। कार्यक्रममा निर्वाचन परिचालन समितिकी संयोजक बसन्ती अधिकारी, प्रदेश सल्लाहकार सदस्य नरेन्द्र शर्मा, जिल्ला कमिटी उपसचिव निर्मला सुनार, जिल्ला सदस्यहरू, नगर नेतृत्व तथा पार्टी कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

एमालेमा प्रवेश गर्ने जेन्जी युवामध्ये मोहित थापा, सौरभ मल्ल, अनुज विष्ट, ईशान्त श्रेष्ठ, सिजन शाही, एलेक्स घले लगायत रहेका छन्। उनीहरूले यसअघि एजेण्डाविहीन राजनीतिक गतिविधिमा युवालाई केवल प्रयोग गर्ने प्रवृत्ति देखिएको अनुभव भएको बताउँदै अब स्पष्ट नीति, विचार र कार्यक्रम बोकेको पार्टी रोजेको बताएका छन्।

नवप्रवेशी युवाहरूले पार्टी प्रवेशसँगै नेकपा एमालेप्रति इमानदार, निष्ठावान र अनुशासित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले आगामी निर्वाचनमा एमाले उम्मेदवारको प्रचार–प्रसारमा सक्रिय रूपमा लाग्ने, गाउँ–समुदायस्तरमा पुगेर जनसम्पर्क विस्तार गर्ने तथा भ्रामक प्रचारको विरोधमा सचेतना अभियान सञ्चालन गर्ने बताएका छन्।

कार्यक्रमका क्रममा सहभागी युवाहरूले “नेकपा एमाले जिन्दावाद” र “भोट सूर्यमा” जस्ता नारासमेत लगाएका थिए। पार्टी नेतृत्वले युवाहरूको सहभागिताले संगठन थप सशक्त बन्ने विश्वास व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार