काठमाडौं, ४ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा का सभापति रवि लामिछाने ले आगामी निर्वाचनपछि देशमा बलियो र स्थिर सरकार बन्ने आशा जागेको बताएका छन्। उनले बलियो सरकारमार्फत जनताका दीर्घकालीन समस्या समाधान गर्ने वातावरण बन्ने दाबी पनि गरे।
सोमबार चितवनको कालिका नगरपालिका–३ मा स्थानीय बासिन्दासँग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै लामिछानेले देशभर रास्वपाप्रति जनसमर्थन बढ्दै गएको उल्लेख गरे। सुरुमा पार्टी गठन गर्दा अपेक्षित माहोल नदेखिए पनि अहिले अवस्था बदलिएको उनको भनाइ थियो।
“पहिला चितवनबाट यात्रा सुरु गर्दा खासै माहोल थिएन,” उनले भने, “अहिले जनतामा आशा पलाएको छ। अब आगामी निर्वाचनपछि बलियो सरकार बन्छ भन्ने विश्वास जागेको छ।”
लामिछानेले यसअघि सरकारमा सहभागी हुँदा जनताका समस्या समाधानका लागि प्रयास गरे पनि विभिन्न कारणले सबै योजना कार्यान्वयन गर्न नसकिएको स्वीकार गरे। तर अब जनताको बढ्दो भरोसा र समर्थनका कारण ती अधुरा काम पूरा गर्न सकिने अवस्था बन्दै गएको उनले बताए।
कार्यक्रमका क्रममा स्थानीयवासीले लामो समयदेखि सुकुम्बासी समस्या समाधानका लागि आश्वासन मात्र पाइँदै आएको तर व्यवहारिक समाधान नआएको गुनासो राखेका थिए। यसप्रति प्रतिक्रिया दिँदै लामिछानेले सुकुम्बासी समस्या आफूले पहिलेदेखि नै नजिकबाट बुझ्दै आएको विषय भएको बताए।
“सुकुम्बासी समस्या भाषणले होइन, स्पष्ट नीति र इमानदार कार्यान्वयनले समाधान हुन्छ,” उनले भने, “नेताहरूले अब मुखले होइन, काम गरेर देखाउनुपर्ने समय आएको छ।”
उनले जनताको समस्यालाई प्राथमिकतामा राखेर राजनीति गर्ने प्रतिबद्धता दोहोर्याउँदै आगामी निर्वाचन ‘नयाँ विकल्प’ को परीक्षा हुने पनि बताए। देशमा बारम्बार सरकार परिवर्तन हुँदा विकास र सेवा प्रवाह प्रभावित भएको भन्दै अब स्थायित्व आवश्यक रहेको उनको धारणा थियो।
लामिछानेले जनताले दिएको अवसरलाई दुरुपयोग नगरी परिणाममुखी काम गर्ने प्रतिवद्धता जनाउँदै भने, “यदि बलियो सरकार बन्यो भने, जनताले भोग्दै आएका समस्या समाधानको दिशामा ठोस काम सुरु हुनेछ।”
कार्यक्रममा सहभागी स्थानीयले राजनीतिक नेतृत्वप्रति बढ्दो निराशाका बीच रास्वपाबाट नयाँ आशा पलाएको प्रतिक्रिया दिएका थिए।