
इलामबासी चलचित्रप्रेमीका लागि खुसीको खबर आएको छ। फ्रेन्ड्स सिनेमाज ले इलाममा आफ्नो तेस्रो सिंगल–स्क्रिन चलचित्र हल सञ्चालनमा ल्याएको छ। आधुनिक प्रविधि र सुविधासहित निर्माण गरिएको यो हल शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
पुरानो बसपार्क क्षेत्रस्थित इलाम नगरपालिकाको बहुउद्देश्यीय पार्किङ भवनमा स्थापना गरिएको यो हलमा एकैपटक १८८ जना दर्शकले चलचित्र हेर्न सक्ने व्यवस्था छ। नयाँ हल सञ्चालनमा आएपछि अब इलामका दर्शकले चलचित्र हेर्न झापा जिल्लाको विर्तामोडसम्म यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।
हलको उद्घाटन कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार पल शाह, अभिनेत्री उषा उप्रेती तथा निर्देशक चन्द्र पन्त को उपस्थिति रहेको थियो। उनीहरूको उपस्थितिले उद्घाटन कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीका अनुसार इलाम शाखा करिब साढे तीन करोड रुपैयाँको लगानीमा निर्माण गरिएको हो। उनले यो हलमा अत्याधुनिक टु–के प्रोजेक्सन प्रणाली तथा डल्बी साउन्ड प्रविधि जडान गरिएको जानकारी दिए। “काठमाडौंका मल्टिप्लेक्स हलमा पाइने सुविधा अब इलाममै उपलब्ध हुनेछ,” उनले बताए।
इलाम शाखाको सञ्चालन जिम्मेवारी प्रदीप धामीसँगै पुष्कर घिमिरे र आशीष तामाङले सम्हालेका छन्। सञ्चालकहरूका अनुसार पछिल्लो समय इलाम नेपाली चलचित्रका लागि सम्भावनायुक्त बजार बन्दै गएको छ, तर गुणस्तरीय हलको अभावका कारण दर्शकहरू अन्यत्र जान बाध्य थिए।
“हल नहुँदा दर्शकले विर्तामोड पुगेर फिल्म हेर्नुपर्थ्यो। अब त्यो कमी पूरा भएको छ,” धामीले भने। उनले निकट भविष्यमा पश्चिम नेपालका विभिन्न सहरमा पनि फ्रेन्ड्स सिनेमाजको विस्तार गर्ने योजना रहेको जानकारी दिए।
नयाँ हल सञ्चालनसँगै शुक्रबारदेखि इलाममा नेपाली चलचित्र आबाट आमा र कुमारी को प्रदर्शन सुरु गरिएको छ। स्थानीय दर्शकको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
नयाँ हलले इलामको मनोरञ्जन संस्कृतिलाई थप सशक्त बनाउने र नेपाली चलचित्र उद्योगलाई पनि स्थानीय स्तरमा प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।