Logout

चर्चामा

मन्त्री बनेका चार सांसदलाई जसपाले सोध्यो स्पष्टीकरण

868 Shares

काठमाडौँ। पार्टी र संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्दै मन्त्री बनेको भन्दै चार सांसदलाई जनता समाजवादी पार्टी संसदीय दलले २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ । सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताका सोमबार बिहान लागि हस्ताक्षर गरेका सन्तोष पाण्डे र सुमन रायमाझीसहित विजय यादव र कल्पना पाण्डे लम्साललाई २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन संसदीय दलले निर्देशन दिएको हो ।

संसदीय दलका नेता सहषराम यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ उपदफा १ (क) र २ बमोजिम चारैजनालाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टिकरण बुझाउन निर्देशन दिएको जानकारी दिए ।

‘पार्टी प्रदेश समितिको चैत २६ गतेको निर्णय र संसदीय दलको बैसाख ६ गतेको निर्णय अनुसार सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न ह्वीप जारी गरिएको निर्णय थाहा हुँदाहुँदै मन्त्रीको सपथ लिनु गम्भीर ह्वीप उल्लंघन हो’–पत्रमा सोधिएको छ–‘दल र दलका नेताको निर्देशन (ह्वीप) किन उल्लंघन गरेको हो ? प्रचलित कानून र संसदीय दलको विधान विपरित अर्को संसदीय दल गठन केका आधारमा गरेको हो ?

२४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टिकरण नआए प्रदेश सभा सदस्य पदबाट मुक्त गर्न प्रचलित कानून अनुसार दलले आवश्यक प्रकृया अघि बढाउने दलका नेता यादवले बताए ।

मन्त्रीहरुले फ्याँकिदिए स्पष्टीकरण पत्र
संसदीय दलले पठाएको स्पष्टिकरण पत्र बुझ्न मन्त्रीहरुले अस्वीकार गरेका छन् । पत्र लिएर गएका कर्मचारीसँग झगडा गर्दै उनीहरुले पत्र फ्याँकिदिएको जसपाका प्रदेश समिति पदाधिकारीले बताए । ‘उहाँहरुमा सामान्य राजनीतिक संस्कार समेत देखिएन,पत्रलाई फ्याँकेर उल्टै पत्र लिएर गएकासँग झगडा गर्नुभएछ’– एक नेताले भने ।

स्पष्टीकरण सोधिएका मन्त्री सन्तोष पाण्डेयले भने संसदीय दलको बहुमतले निर्णय गरेर आफूलाई दलको नेता चयन गरेर आफूहरु सरकारमा सहभागी भएकाले अल्पमतले स्पष्टीकरण सोध्न नमिल्ने प्रतिक्रिया दिए । तर दलका नेता यादवले भने पार्टी संसदीय दलको विधानमा दुई वर्षसम्म दलका नेतामाथि अविश्वास प्रस्ताव ल्याउन नपाइने स्पष्ट उल्लेख भएकाले सरकारमा सहभागीता पूर्णतः अनैतिक र अराजनीतिक भएको टिप्पणी गरे ।

समाजवादी पार्टी र राजपा एकीकरणपछि बनेको जसपाको संसदीय दलको विधान गत पुसमा मात्र बनेकाले दुई वर्ष नपुगेकाले दलका नेता यादवमाथिको अविश्वास प्रस्ताव अवैधानिक भएको उनले बताए ।

यसअघि पार्टी प्रदेश समितिका अध्यक्ष अशोक यादवले सोमबार नै चारै जनालाई स्पष्टीकरण नआउँदासम्म पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमार्फत जनाएका थिए ।

कार्यक्रम बहिष्कार गर्ने निर्णय
यसैबीच जसपा रुपन्देहीले पार्टीको निर्णय विपरीत एमाले नेतृत्वको सरकारमा सहभागी चारैजना मन्त्रीको कार्यक्रम बहिष्कार गर्न कार्यकर्तालाई अपील गरेको छ ।

पार्टी अध्यक्ष रामअवतार यादवले विज्ञप्ति जारी गर्दै मन्त्रीहरु सहभागी सामाजिक र राजनीतिक कार्यक्रमहरुमा पार्टीका नेता कार्यकर्तालाई उपस्थित नहुन अपील गरेका हुन् ।

JSPA.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार