काठमाडौं । प्रिक्सा कम्पनीअन्तर्गतको ‘थर्ड फ्याक्टर एआई’ले विकास गरेको अत्याधुनिक परिचय प्रमाणीकरण (Identity Verification) प्रविधि अब नेपाल सरकारको नागरिक एपमा एकीकृत भएको छ। यसअघि निवृत्तिभरण (पेन्सन) व्यवस्थापन कार्यालयमा मात्र प्रयोग भइरहेको यो प्रणाली नागरिक एपमा समावेश भएसँगै सरकारी सेवा थप सहज, सुरक्षित र प्रविधिमैत्री बनेको छ।
यो प्रविधि सुरुमा पेन्सन व्यवस्थापन कार्यालयको डिजिटल पेन्सन प्रमाणीकरण प्रणालीका लागि विकास गरिएको थियो। यसअघि पेन्सनरहरूले प्रत्येक छ महिनामा आफू जीवित रहेको पुष्टि गर्न अनिवार्य रूपमा बैंकको शाखामा उपस्थित हुनुपर्ने व्यवस्था थियो। नयाँ प्रणाली लागू भएपछि तीन लाखभन्दा बढी पेन्सनरले बैंक धाउनुपर्ने बाध्यता हटेको छ भने घरबाटै सुरक्षित रूपमा आफ्नो परिचय प्रमाणीकरण गर्न सकिरहेका छन्।
नागरिक एपमार्फत पेन्सनरहरूले राष्ट्रिय परिचयपत्रमा रहेको विवरणसँग आफ्नो अनुहार (फेस भेरिफिकेसन) मिलाएर केही सेकेन्डमै परिचय पुष्टि गर्न सक्नेछन्। प्रमाणीकरण प्रक्रियामा प्रणालीले पहिलो चरणमा सरकारी अभिलेखमा रहेको तस्बिरसँग प्रत्यक्ष अनुहार मिलान गर्छ भने दोस्रो चरणमा राष्ट्रिय परिचयपत्रमा समावेश विवरणहरूको स्वचालित प्रमाणीकरण गर्छ। यी दुवै परीक्षण सफल भएपछि मात्रै प्रमाणीकरण प्रक्रिया पूरा हुने भएकाले प्रणालीलाई उच्च विश्वसनीय र सुरक्षित मानिएको छ।
यस प्रविधिले विशेषगरी ज्येष्ठ नागरिकलाई लामो दूरीको यात्रा, बैंकमा घण्टौं लाइन बस्नुपर्ने झन्झट तथा समय खर्चबाट राहत दिएको छ। साथै, डिजिटल माध्यमबाट सरकारी सेवा प्रदान गर्ने सरकारको प्रयासलाई समेत थप प्रभावकारी बनाएको छ।
पहिलो पटक नेपालको राष्ट्रिय नागरिक सेवा प्लेटफर्म ‘नागरिक एप’मार्फत उपलब्ध भएको यो सुरक्षित दूरस्थ परिचय प्रमाणीकरण सेवाले डिजिटल सार्वजनिक सेवाको विस्तारलाई नयाँ गति दिएको विश्वास गरिएको छ।
प्रविधि विकासकर्ता थर्ड फ्याक्टर एआईले सरकार, बैंक तथा वित्तीय संस्था र विभिन्न उद्यमका लागि परिचय प्रमाणीकरण, अनुहार प्रमाणीकरण, लाइभनेस डिटेक्सन, डकुमेन्ट इन्टेलिजेन्स तथा डिजिटल अनबोर्डिङजस्ता अत्याधुनिक डिजिटल समाधानहरू विकास गर्दै आएको जनाएको छ।
कम्पनीले ‘Trust Your Customer (TYC)’ अवधारणाअनुसार प्रयोगकर्ताको सम्पूर्ण डिजिटल यात्राभर सुरक्षित र विश्वसनीय परिचय प्रमाणीकरण सुनिश्चित गर्ने लक्ष्यका साथ आफ्ना समाधानहरू विस्तार गर्दै आएको जनाएको छ।