काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहण र पदबहालीलगत्तै केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।
दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथ ग्रहण तथा पदबहाली कार्यक्रम तय भएको छ । त्यसलगत्तै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकमा सभापतिले समसामयिक विषयमा ब्रिफिङ गर्नेछन् । आजको बैठक अन्य एजेन्डामा प्रवेश नगर्ने उनले स्पष्ट पारे ।
बैठकले महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने महाधिवेशन प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्ने लगायतका विषयमा निर्णय गर्नेछ ।
कांग्रेसको विधानअनुसार सभापतिले चार सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता र ६६ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ । तर, आजको बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनसम्बन्धी निर्णय नहुने स्नेहीले बताएका छन् ।