काठमाण्डौ । नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ आजदेखि हुँदैछ । आज उद्घाटन खेलमा बेलुका साढे ५ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा काठमाण्डौ रेजर्स र ललितपुर सिटी एफसी खेल्दै छन् ।
कोरोना महामारीको कारण खेल हेर्न दर्शकलाई रंगशाला प्रवेशको अनुमति छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता जेठ १ सम्म चल्ने छ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउने छन् । यस्तै उपविजेताले १५ लाख पाउने छन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख पाउने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीले १ लाख पाउने छन् । त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन् ।