काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल – माधव नेपाल पक्षका स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले एमाले पार्टी नछाड्ने बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाहीको नाममा आफ्नो समूहलाई सुली मै चढाए पनि एमाले पार्टी नछाड्ने बताएका हुन् ।
शनिवार गृहजिल्ला गुल्मीको भुवाचिदीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै बिष्टले सत्ता– शक्तिको अहंकारमा ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै सिध्याउने गरि अगाडि बढेको बताए ।
ओलीले पार्टीको विधि र पद्धति उल्लंघन गर्दै कारबाही नाममा स्वेच्छाचारी व्यवहार देखाएको विष्टको आरोप छ । त्यसबाट विचलित नभई संघर्ष गर्ने र सुलीमै चढाए पनि आफूहरुले पार्टी नछाड्ने उनको भनाइ छ ।
ओली पक्षको एउटा सानो समूहले गठन गरेको महाधिवेशन आयोजक समिती, स्थायी कमिटी, कसैलाई सुम्पिएको जिम्मेवारी र हटाइएको जिम्मेवारी मान्य नहुने उनले बताए ।
गुल्मीको हकमा साविक एमाले कै नेतृत्वले जिल्लादेखि वडा तहसम्म बैठक बोलाउन र साविककै कार्यकर्ताहरु समेट्न आफूले फोनमा पटक पटक भन्दै ओली समूहले धुर्कोटबाट समानान्तर कमिटी गठन गर्न सुरु गरेको उनको भनाइ थियो ।