काठमाडौं । बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उप निर्वाचनका लागि पाँचवटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । बिहीबार बसेको निर्वाचन आयोगको बैठकले उप निर्वाचनका लागि दल दर्ता गरेका नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई निर्वाचन चिन्ह दिने निर्णय गरेको छ ।
जम्मा ५ (पाँच) राजनीतिक दलको नामावली राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिन्ह निर्धारण गरी प्रदान गर्ने निर्णय गरेको छ’ आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आयोगको निर्णयअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सूर्य चिन्ह र क्रम १, नेपाली काँग्रेसलाई रुख चिन्ह क्रम २, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई गोलाकारभित्र हँसिया हथौडा चिन्ह र क्रम ३, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिन्ह र क्रम ४ तथा नेपाल मजदुर किसान पार्टीलाई मादल चिन्ह र क्रम ५ को क्रममा मतपत्रमा समावेश हुने भएका छन् ।
साथै आयोगको बैठकले राष्ट्रियसभा सदस्य उप निर्वाचनका लागि प्रदेश सभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाताको नाम समावेश गरी तयार गरिएको मतदाता नामावली स्वीकृत गर्ने र स्वीकृत भएको मतदाता नामावली मिति २०७८र१र२१ गते विहान ११.०० बजे निर्वाचन अधिकृतको कार्यालय, हेटौंडामा प्रकाशन गर्ने निर्णय गरेको छ ।
प्रकाशित मतदाता नामावलीमा सोही दिनको विहान ११ .०० बजेदेखि बेलुकी ५.०० बजेसम्म नाम समावेश हुन छुटेको व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने, मतदाता नामावलीमा उल्लेखित मतदाताको विरोधमा उजूरी दिन सकिने व्यवस्था गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । राष्टिय सभाको उपनिर्वाचन आगामी जेठ ६ गते हुँदैछ ।