काठमाडौं । देशभरका अक्सिजन उद्योगको सुरक्षामा नेपाल प्रहरीले खटिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अक्सिजन उद्योगको सुरक्षाका लागि आग्रह गरेपछि गृह मन्त्रालयले प्रहरी खटाउने निर्णय गरेको हो ।
अक्सिजन उद्योग भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उद्योगले मागे बमोजिमको सुरक्षाकर्मी उपलब्ध गराउन परिपत्र गरिएको गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले बताए ।
कोरोना संक्रमितको संख्या बढेसँगै देशभर अक्सिजनको माग पनि बढेको छ । यसका कारण अक्सिजन उद्योगमा असुरक्षा बढेको भन्दै उद्योगहरुले सरकारसँग सुरक्षा माग गरेका थिए । उद्योग मन्त्रालयले सुरक्षा माग गरेको हुनाले प्रहरी खटाउने निर्णय भएको र सोहीअनुसार परिपत्र गरेको आचार्यले बताए ।
अक्सिजनको माग बढेका कारण उद्योगको असुरक्षा बढेको तथा वितरण प्रणालीमा उद्योगलाई नटेर्ने प्रवृत्ति बढेपछि त्यसलाई समन्वय गर्न पनि प्रहरीले परिचालन गर्नुपरेको महानिर्देशक जीवलाल भुसालले बताए ।
उद्योगको सुरक्षामा खटिने प्रहरीले वितरणलाई प्रभावकारी बनाउने, उद्योगका कार्मचारीको मनोबल बढाउने तथा समग्र उद्योगको सुरक्षा हेर्ने भुसालले बताए । अहिलेकै अवस्था रहिरहे अक्सिजन खोस्ने अवस्था आउने देखिएपछि उद्योग मन्त्रालयसंग सुरक्षाको प्रबन्ध गर्न माग गरेको नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायणदत्त तिमिल्सनाले बताए ।