काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो आयकर सम्बन्धी विवरण सार्वजनिक गरेका छन्।
बाइडेनले अमेरिकी राष्ट्रपतिको परम्पराका रुपमा रहेको कर सम्बन्धी विवरण सार्वजनिक गर्ने चलन पुनः स्थापित गरेको ह्वाइट हाउसले जनाएको छ ।
सार्वजनिक गरिएको विवरण अनुसार गएको वर्ष राष्ट्रपति बाइडेनले र प्रथम महिला डा. जिल बाइडेनले ६ लाख सात हजार ३३६ डलर आय गरेको र एक लाख ५७ हजार ४१४ डलर आयकर तिरेको उल्लेख छ ।
त्यो भन्दा अघिल्लो वर्ष (सन् २०१९) उनीहरुको आय ९ लाख ८५ हजार २२३ थियो । अधिकांश रुपमा भाषण, पुस्तक बिक्री तथा उच्च शिक्षा प्रदान गर्ने संस्थाहरुमा रहेको पदबाट आय भएको देखिएको छ ।
डोनाल्ड ट्रम्पले आफ्नो आयको विवरण तथा कर सम्बन्धी जानकारी सार्वजनिक गर्न अस्वीकार गरेका थिए । वाटरगेट काल यता आफ्ना आयकर सम्बन्धी जानकारी सार्वजनिक नगर्ने उनी पहिलो राष्ट्रपति थिए । इन्टरनल रेभिन्यू सर्भिस (अमेरिकाको कर संकलन कार्यलय) बाट अडिट भइरहेका कारण आफूले विवरण सार्वजनिक गर्न नसकेको ट्रम्पले दाबी गरेका थिए ।
सोमबार जारी गरिएको विवरण अनुसार चुनावका लागि व्यस्त रहेको वर्ष २०२० मा बाइडेनले तिरेको आयकरको दर २५.९ प्रतिशत रहेको छ ।
उनीहरुले गएको वर्ष परोपरकाका काम गर्ने १० संस्थालाई कुल ३० हजार ७०४ डलर पनि प्रदान गरेका छन् । सबैभन्दा धेरै बो बाइडेन फाउन्डेशनलाई १० हजार डलर दिएका छन् । सन् २०१५ मा ४६ वर्षको उमेरमा ब्रेन क्यान्सरले निधन भएका राष्ट्रपति बाइडेनका छोरा बो को नाममा स्थापाना गरिएको सो संस्थाले बालबालिकामाथि हुने दुर्व्यवहार विरुद्ध काम गर्दै आएको छ ।
बाइडेन दम्पतीसँग १२ लाख देखि २८ लाख ८० हजार डलरको बिचमा सम्पती पनि रहेको सोमबार सार्वजनिक विवरणमा उल्लेख छ । बाइडेनले राष्ट्रपतिका रुपमा वार्षिक चार लाख डलर तलब पाउँछन् ।
डेमोक्र्याटिक राष्ट्रपति बाइडेनले वार्षिक चार लाख डलर भन्दा बढि आय गर्नेहरुको कर बढाउने प्रस्ताव गरेका छन् ।
उपराष्ट्रपति कमला ह्यारिस र सेकेण्ड जेन्टलम्यान डग एमहोफले पनि सन् २०२० को आयकर सम्बन्धी विवरण सार्वजनिक गरेका छन् ।
उनीहरुको आय १६ लाख ९५ हजार २२५ डलर देखिएको छ । उनीहरुले ६ लाख २१ हजार ८९३ डलर आयकर तिरेका छन् । उनीहरुको कर दर ३६.७ प्रतिशत देखिएको छ ।