Logout

चर्चामा

शिवरात्रिको दिन सार्वजनिक गाडी निरन्तर चल्ने

570 Shares

काठमाडौं । शिवरात्रिका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चावहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक गाडी निरन्तर चल्ने छन् ।

तर, दर्शनार्थीको चाप बढी भइ यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा गाडी आवागमनलाई निषेध गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यस्तै, मालबाहक गाडीलाई पनि रोक्ने गरी सुरक्षा एवं यातायात योजना बनाइएको कोषले जनाएको छ । शिवरात्रिका अवसरमा ६० वटा संस्थालाई स्वयंसेवा गर्न, २५ वटा संस्थालाई स्वास्थ्य शिविर राख्न र २० संस्थालाई निःशुल्क भोजनको व्यवस्था गर्न अनुमति दिइएको छ ।

विगत वर्षमा स्वयंसेवक परिचालन गर्ने अनुमति लिएर आफैँ दर्शन गर्न जाने एवं तोकिएको काम नगर्ने संस्थालाई यस वर्ष जिम्मेवारी दिइएको छैन ।

भक्तजनको गाडी  पार्किङका लागि तिलगङ्गा कोरिडोरको उपलब्ध ठाउँ, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त र महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, सिफल चौर, गुह्येश्वरी पारी गरी पाँच स्थान व्यवस्थापन गरिएको छ ।

हंसमण्डप वनकालीमा नेपाल र भारतका कलाकार भक्ति सङ्गीत एवं धार्मिक कार्यक्रम गर्ने व्यवस्था मिलाइएको छ । पशुपति सङ्गीत कला प्रतिष्ठानले वाग्मती पारी तीन दिनसम्म धार्मिक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तयार भएको छ ।

शिवरात्रिका अवसरमा पशुपतिनाथका भित्री द्वारसहित मन्दिर परिसरलाई विशेष किसिमले सिङ्गारिने तयारीसमेत भएको छ । पशुपति क्षेत्र कानुनद्वारा नै मासु, मदिरा तथा नशालु पदार्थ निषेधित क्षेत्र घोषणा गरेकाले त्यसलाई कडाइका साथ पालना गरिने पनि पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार