काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । शुक्रबार नै दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका उनले त्यसअघि विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएका नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । सर्वोच्च अदालतको आदेशमा शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् र साउन ३ गतेका लागि संसद अधिवेशन आह्वान भइसकेको छ ।
पार्टीभित्रको विवाद र संसदमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा बैठकमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।
यो नि पढ़नुस
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि बोलाएकी छन् ।
बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।
गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला गरी साउन ३ गतेभित्र बैठक बोलाउन पनि आदेश दिएको थियो ।