काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले देशलाई अस्थिरतातर्फ धकेल्ने र विकासका क्रमलाई अघि बढ्न नदिने काम गरेको दाबी गरेका छन् । १११औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेको कामबाट अतालिएर प्रचण्ड, नेपाल बारम्बार बिरोधमा उत्रेको बताए ।
उनले पार्टी र सरकारमा बाधा हुँदा पनि सरकारले विकासका थुप्रै काम गरेको दाबी गरे । ‘पार्टीमा, सरकारमा भोग्नुपरेका बाधा । केही तत्वहरुबाट देशलाई अन्धकारतिर धकेल्ने कुचेष्टा । मैले त्यतातिर जानु पर्दैन । यहाँहरू जानकार हुनुहुन्छ । खुट्टा तान्ने, घेराबन्दी गर्नेले हाम्रो विकासको गतिलाई रोक्न सकेनन्,’ उनले भने, ‘हामी विकासको गतिमा अघि बढेका छौँ, भर्खर मेलम्चीको पानी काठमाण्डुमा खसालेका छौँ ।
मानिसले पत्याएका थिएनन् । केही दिनभित्र धारा–धारामा वितरण गर्दैछौँ,’ उनले भने । त्यस्तै प्रधानमन्त्री ओलीले ३ वर्षमा सरकारले गरेका धेरै कामहरू एकछिनमा भन्न नसकिने बताएका छन् । उनले भने, ‘सरकारले ३ वर्षमा गरेका काम, यतिधेरै कामहरू सरकारले गरेको छ, एकछिनमा भन्न सकिँदैन ।’
त्यस्तै उनले जनतामा जाने निर्णय गर्दा विरोध गर्ने प्रचण्ड, माधवहरु चुनावमा गए धुलो चाट्ने टिप्पणी गरे । ‘लोकतन्त्रमा नयाँ जनमतका लागि चुनावमा जाने निर्णय गलत होइन । तर, कसैकसैले चिच्याईं चिच्याईं बिरोध गरे,’ उनले भने, ‘उनीहरु चुनावमा गए धुलो चाट्छन् । जनताले धुलो चटाउँछन् ।’