काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीका नेता माधव कुमार नेपाल सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका विपक्षीहरुले बुनेका तानावानाले आफूलाई कुनै फरक नपर्ने बताएका छन् । उनले माकुराको जालोमा भैसी नपर्ने भन्दै ब्यङ्ग्य पनि गरे ।
‘हामी धेरै सजिला अप्ठेराहरु झेलेर आएका छौं । जेलनेल, भूमिगत, दमन, लडाइँ–झगडा खेपेर त्यसविरुद्ध लडेर आएका छौं,’ अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलामा ओलीले भने, ‘त्यसकारण म भन्ने गर्छु माकुराले थापेको जालोमा भैसी पर्दैन । अहिले पनि माकुराहरूले थुप्रै जालो थापे । तर गैँडा सुरु–सुरु अघि बढ्छ । जालो कहाँ थियो, त्यसले थाहै पाउँदैन ।
हामी देश विकासको कुरा हेरेर अघि बढेका छौं ।’ प्रचण्ड–नेपाललगायतलाई संकेत गर्दै उनले भने,‘ माकुराले कहाँ जालो थापेको छ ? जालो चुँडाएपछि ऊ कराउन थाल्छ – जालो चुँडियो, यसरी चुँडाउन पाइँदैन भन्छ । उसले थापेको जालो नै थाहै नपाई चुँडिन खालको छ त म के गरौं ?’ प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधामन्त्रीबाट हटाउन चुनौती दिए । हटाउन सके हटाएर देखाउन उनले चुनौती दिएका हुन् ।
कसैले हटाएपनि नेकपा(एमाले) २० महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उनको भनाइ छ । उनले भने,‘कसैलाई प्रतिपक्षमा बस्न के–के न गाह्रो हुन्छ । ०७३ सालमा म प्रधानमन्त्रीबाट हटाइएँ । १९ महिनापछि दुुई तिहाई लिएर फर्किएँ । अहिले हटाउन सक्छ भने हटाओस् । हटाउने प्रयास भइरहेको छ । तर, २० महिनापछि फेरि यो पार्टी, सूर्य चिन्हधारी पार्टी, नेकपा एमाले नामको पार्टी, दुुई– तिहाई लिएर सिंहदरबारबाट मुल गेटबाट फेरि पस्छ ।
हामी सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौं । हामी राजनीतिक प्राणी हौं ।’ उनले आफ्नो गन्तव्य सत्ता नभएर देश विकास भएको बताए । ‘हाम्रो गन्तव्य सत्ता होइन । हाम्रो गन्तव्य देशको विकास हो, जनताको समस्या साधान गर्दै अघि बढ्ने कुरा हो । हामीले निर्धारित गरेका लक्ष्यहरु कृषिको आधुनिकिकरण हो । रोजगारीका अवसरहरू सिर्जना गरेर अगाडि जाने कुरा हो । यस देशमा जनतालाई हेर्ने हामीबाहेक अरु को छ र ?’उनले भने ।